एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा

यसअघि ५० ओभरको खेलमा नेपाल र मलेसिया ५ पटक आमनेसामने भएका छन्। ती सबै खेलमा नेपाल विजयी भएको छ।

एसीसी प्रिमियर कपको पहिलो खेलमा घरेलु टोली नेपालले मलेसियाविरूद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले अनुभव ब्याटर ज्ञानेन्द्र मल्ललाई आराम दिएका छन्। उनको स्थानमा भीम सार्कीले मौका पाएका छन्। ज्ञानेन्द्रसँगै करण केसीलाई पनि नेपालले बेन्चमा राखेको छ।

उपाधिको दाबेदार नेपाल तुलनात्मक रूपमा कमजोर मलेसियालाई हराउँदै प्रतियोगिताको शुरूआत गर्न चाहन्छ। यसअघि ५० ओभरको खेलमा नेपाल र मलेसिया ५ पटक आमनेसामने भएका छन्। ती सबै खेलमा नेपाल विजयी भएको छ।

प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी