प्रधानमन्त्री कप : पुलिस र गण्डकीको जित

नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्।

काठमाडौँ– नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्। सोमबार सम्पन्न आ–आफ्नो खेलमा पुलिस र गण्डकीले जित दर्ता गरेका हुन्। 

मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिस क्लबले प्रदेश १ माथि ७ विकेटको सहज जित हात पारेको हो। जारी प्रतियोगितामा यो पुलिसको लगातार दोस्रो जित हो। पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई १९२ रनले हराएको थियो। लगातार दोस्रो जितसँगै पुलिस शीर्षस्थानमा रहँदै सेमिफाइनलनजिक पुगेको छ।

जितको लागि १०३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

यता, शंकर रानाले २४ बलमा ५ चौकासहित २९ रनको योगदान दिए। राशिद खान १६ र कप्तान दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए। प्रदेश १ का लागि फिर्दोस अन्सारी र सिद्धान्त लोहनीले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ३५.१ ओभरमा १०२ रनमा अलआउट भएको थियो। प्रदेश १ का लागि ओपनर निरज मुखियाले ३७ बलमा ५ चौकासहित २९ रन बनाए। यता, अर्का ओपनर अंकित सुवेदीले ३५ बलमा ४ चौकासहित २४ रन बनाए। विवेक आनन्द मेहेताले १७ रनको योगदान दिए।

पुलिसका ललित नारायण राजवंशीले १० ओभरमा ३ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए। यता, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। राशिद खानले १/१ विकेट लिए।

समूह ‘ए’ मा पुलिस २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ। 

गण्डकी प्रदेशसँग सुदूरपश्चिम पराजित
अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै विजयी शुरूआत गरेको छ। जितको लागि २०९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.२ ओभरमा १३९ रनमा अलआउट भयो। 

सुदूरपश्चिमका लागि मिलन बोहराले सर्वाधिक ५१ रन बनाए। उनले ६४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यता, गजेन्द्र बोहराले ६८ बलमा ५ चौकासहित ३५ रन बनाए।

गण्डकीको लागि विपिन खत्रीले १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए। सुवास भण्डारी र २ अभिषेक बस्नेतले २/२ विकेट लिए। यता, कमल परियार र अमृत गुरूङको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। गण्डकीका युवा ओपनर अर्जुन कुमालले सर्वाधिक ६३ रन बनाए। उनले १ सय ५ बलमा १० चौका प्रहार गरे। अर्का ओपनर समिर कडेँलले ७१ बलमा ४ चौकासहित २६ रन बनाए।

विधान श्रेष्ठ र अभिषेक बस्नेत २५/२५ रनमा आउट भए।  सन्दीप क्षेत्री १९, कमल परियार तथा विपिन खत्री १३/१३ रनमा आउट भए।

सुदूरपश्चिम प्रदेशका शेर मल्ल, नारायण जोशी र कैलाश ऐरले २/२ विकेट लिए। नरेन्द्र साउदले एक विकेट लिए। समूह ‘ए’ मा रहेको गण्डकीले जितसँगै २ अंक जोडेको छ।