लामो समय एउटै पार्टी, एउटै कमिटीमा रहेर काम गरेका एमालेका सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल आमनेसामने बनेको रुपन्देही–१ त्यहीकारण यसपालि चर्चाको केन्द्रमा छ।
बुटवल– एमालेको नवौं महाधिवेशनबाट घनश्याम भुसाल उप–महासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य थिए। गतवर्ष चितवनमा सम्पन्न १०औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित भए भने भुसाल उपाध्यक्षमा पराजित भए। पराजित भए पनि स्थायी कमिटीमा पुगे। भुसाल र विश्वकर्माको अर्को संयोग के भने २०६५ सालमा बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनबाट उनीहरू दुवैजना पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसअघि विश्वकर्मा वैकल्पिक केन्द्रीय सदस्य थिए। आठौँ महाधिवेशनपछि विश्वकर्मा पोलिटब्यूरोमा उक्लिए।
एमालेमा लामो समय एउटै कमिटीमा रहेर काम गरेका विश्वकर्मा अहिले एमालेका पदाधिकारी हुन्, भुसालले एमाले छाडिसकेका छन्। तर, उनीहरूको यो संयोग टुंगिएको छैन, बरु थप रोचक बनेको छ। कारण, भुसाल र विश्वकर्मा दुबै रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रमुख प्रतिद्वन्द्वी बनेर उभिएका छन्। एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन छ। एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन्। भुसाल र विश्वकर्माको रोचक प्रतिस्पर्धा सत्तागठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक बनेको छ।
उम्मेदवारलाई डर, मतदाता अन्योलमा!
पृष्ठभूमि फरक भए पनि एउटै पार्टीबाट राष्ट्रिय राजनीतिमा स्थापित दुई नेता आमनेसामने बन्दा रुपन्देही–१ का मतदाताहरू भने अलमलमा परेका छन्। यही क्षेत्रमा पर्ने देवदहका मतदाता लक्ष्मण न्यौपाने दुवै नेताका आ–आफ्नै विशेषता भएकाले अलमलमा परेको बताउँछन्। “अहिल्यै केही भन्न सकिन्न। प्रतिस्पर्धा कडा हुने देखिन्छ,” उनले भने, “स्थानीय तह निर्वाचनको गणितले विश्वकर्माको पल्ला भारी देखिन्छ। तर, त्यो सबै मत उनकै पक्षमा आउँछ भन्न पनि सकिन्न।”
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार भुसाललाई सघाएको सत्तागठबन्धन भन्दा एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतले अगाडि छ। तर, यो क्षेत्रको मत कहिल्यै स्थिर नहुने हुँदा स्थानीय निर्वाचनको जस्तो मत विश्वकर्मालाई नै जाने टुंगो छैन। रुपन्देही–१ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही–१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी भए। त्यसबेला रज्जाकका निकटतम प्रतिद्वन्द्वी छविलाल विश्वकर्मा नै थिए। २०७४ मा वामगठबन्धनबाट एमालेका विश्वकर्मा विजयी हुँदा कांग्रेस निकटतम प्रतिद्वन्द्वी थियो।
यो क्षेत्रमा एमालेको एउटा पंक्ति विश्वकर्मासँग असन्तुष्ट छ। भुसाललाई त्यही पंक्तिको मत आफूले पाउने आशा छ। यसबाहेक उनको आफ्नै संगठित मत भने छैन। भुसालको प्रमुख भरोसा सत्तागठबन्धनको नेपाली कांग्रेस समर्थित मत हो। यो क्षेत्रमा कांग्रेस बलियो शक्ति मानिन्छ। कांग्रेसबाहेक एमालेबाट आफूलाई ‘क्रस’ हुनसक्ने मत र माओवादी केन्द्रको मतबाट जित निकाल्न भुसाल प्रयत्नरत छन्। यहीकारण पछिल्लो समय भुसालको सम्बन्ध रुपन्देही–३ बाट उम्मेदवार रहेका कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाँणसँग बाक्लिएको देखिन्छ।

रुपन्देही–१ (ख) मा कांग्रेसबाट खाँणनिकट नेता अब्दुल रज्जाक प्रदेशसभा सदस्यको उम्मेदवार छन्। यो क्षेत्र खाँणको पकड भएको क्षेत्र मानिन्छ। प्रतिनिधि सभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसले पाउने सबै मत आफूतिर तान्न भुसालको प्रमुख जोड छ। भुसालको एउटा चुनौती चाहिँ स्थानीय समस्यामा ध्यान नदिएको भनेर लाग्दै आएको आरोप हो। माक्र्सवादका व्याख्यामा आफूलाई केन्द्रित गर्दै आएका भुसालले स्थानीय समस्या र कार्यकर्ताको गुनासोलाई ध्यान नदिएको जुन गुनासो अहिले पनि सुनिन्छ, त्यसले उनलाई चुनौती थप्न सक्छ।
एमाले उम्मेदवार विश्वकर्मा स्थानीय तह निर्वाचनको मतका आधारमा बलियो देखिए पनि स्थानीय निर्वाचनमा जसपा र राप्रपाले पाएको सबै मत उनलाई आउन कठिन छ। लामो समय एमालेको राजनीति गरेर केही समयअघि पार्टी छाडेका, फेरि एमालेमै फर्किए पनि त्यति सक्रिय नरहेका रोहिणी गाउँपालिकाका सञ्जय गुप्ता क्षेत्र नम्बर १ को दक्षिणी क्षेत्रका मतदाताको मनोविज्ञानले पनि प्यानलगत भोट नजाने बताउँछन्। “स्थानीय तहमा राप्रपा र जसपाले पाएको मत संगठित नभएर व्यक्तिगत मत हो, त्यो मत जसले तान्न सक्छ उसले चुनाव जित्छ,” उनी भन्छन्, “कांग्रेसको सबै मत भुसाललाई पनि जान्न। जसपा र राप्रपाको सवै मत विश्वकर्माले पनि पाउँदैनन्। पहिलेभन्दा अवस्था धेरै फेरिएको छ।”
आफ्नै मत जोगाउने चुनौती
रुपन्देहीमा संगठनका हिसाबले एमाले सुदृढ शक्ति रहेपनि आफ्नै कार्यशैलीका कारण छविलाल विश्वकर्मा अप्ठेरोमा छन्। उनले अन्य पार्टीबाट आएका नवप्रवेशीलाई प्राथमिकता दिएर स्थानीय तह निर्वाचनमा टिकट दिएपछि एमाले कार्यकर्ताको एउटा पंक्ति पार्टीबाटै बाहिरिएको थियो।
स्थानीय तह निर्वाचनअघि एमाले जिल्ला कमिटी सदस्य सञ्जय गुप्ता, मीना पाण्डे, रोहिणी गाउँपालिका कमिटी सहसचिव अनिता हरिजन, भोला क्षत्री, राज त्रिपाठी लगायतले एमाले छाडेका थिए। त्यसमध्येका एमालेमा फर्केका गुप्ता अहिले पनि विश्वकर्माको कार्यशैलीको आलोचना गर्छन्। उनी चुनावी प्रचारमा पनि सक्रिय छैनन्। भन्छन् “पार्टीको मायाले एमाले भन्दा बाहिर जान सकिनँ। तर, विश्वकर्माको कार्यशैलीको विषयमा विगतको धारणामा परिवर्तन भएको छैन। बास बस्न आउनेलाई टिकट दिएर पुरानालाई बेवास्ता गरेर उनले हाम्रो अवमूल्यन गरेका हुन्।”
२०७४ को स्थानीय तह निर्वाचनमा जसपाबाट रोहिणी गाउँपालिका अध्यक्षमा विजयी भएका सनोज यादवलाई विश्वकर्माले नै एमाले प्रवेश गराएर यसपालिको स्थानीय निर्वाचनमा उनैलाई गाउँपालिका अध्यक्षको टिकट दिएका थिए। एमाले छाडेका गुप्तासहितको टीमले असहयोग गर्दा यादव अध्यक्षमा पराजित भए। अहिले यादवले पनि एमाले छाडिसकेका छन्।

विश्वकर्माकै पहलमा नेकपा (माओवादी केन्द्र)बाट एमाले प्रवेश गरेका प्रदिप पाण्डेकी श्रीमती बसन्ती पाण्डेलाई रोहिणी गाउँपालिका उपाध्यक्ष र माओवादीबाटै एमाले प्रवेश गरेका ओमसोतिया गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवटकी श्रीमती निर्मला कुमारी केवटलाई ओमसोतिया गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनाइएको थियो। यसबाट असन्तुष्ट बनेको एमालेको त्यही पंक्ति हो जो अघिल्लो निर्वाचनमा विश्वकर्मालाई जिताउन लागिपरेको थियो। तर, यसपालि सक्रिय छैन।
देवदहका टीकाराम चापागाईं २०७४ सालको निर्वाचनमा विश्वकर्मालाई जिताउन अग्रपंक्तिमा खटिएका थिए। अहिले उनी एमाले छोडेर विश्वकर्माविरुद्ध स्वतन्त्र उम्मेदवार बनेका छन्। उनलाई त्यो अवस्थामा पुर्याउन विश्वकर्मा नै जिम्मेवार रहेको एमाले कार्यकर्ताहरू बताउँछन्।
२०७४ सालको निर्वाचनको रोचक प्रसंग छ। त्यसबेला रुपन्देही–१ बाट विश्वकर्माले टिकट पाउने सम्भावना थिएन। एमालेको क्षेत्रीय कमिटीका ९९ प्रतिशत सदस्यले घनश्याम भुसालको नाम सर्वसम्मत सिफारिस गरेका थिए। तर, चापागाईं एक्लै क्षेत्रीय कमिटिमा लडेर विश्वकर्माको नाम पनि सिफारिस गराए। र, केन्द्रले त्यही सिफारिसका आधारमा विश्वकर्मालाई उम्मेदवार बनायो। आफूले एक्लै लडेर विश्वकर्मालाई उम्मेदवार बनाएको र जिताउन समेत भूमिका खेलेको कारण चापागाईं त्यसको बदलामा यसपालि देवदह नगरपालिकाको मेयर वा प्रदेश सभा सदस्यको उम्मेदवार बन्न चाहन्थे। त्यसका लागि विश्वकर्माको पहल र सहयोग खोजिरहेका थिए। तर, विश्वकर्माले त्यस्तो पहल नै गरेनन्।
रुपन्देही एमालेका एक नेताका अनुसार विश्वकर्मा यसपालि क्षेत्रीय कमिटीबाट आफ्नो मात्र नाम सिफारिस गराउन चाहन्थे। तर, परिस्थिति उनले चाहेजस्तो भएन। विश्वकर्मासँगै चापागाई, अजय रौनियार र घनश्याम भुसालको नाम क्षेत्रीय कमिटीले सिफारिस गर्यो। ती नेता भन्छन्, “यसले उहाँ (विश्वकर्मा)लाई आक्रोशित बनायो। यतिसम्म कि घनश्याम भुसालको नाम प्रस्ताव गर्ने शैलेन्द्र उपाध्यायलाई उहाँले बैठकमै आफ्नो मर्यादा भुलेर हप्काउनुभो।”
विश्वकर्मा त्यो बैठकबाट भुसालको नाम क्षेत्रीय कमिटिबाट जिल्ला कमिटीमा पठाउने पक्षमा थिएनन्। तर, अन्य सदस्यहरूले प्रस्ताव भएका सबै नाम पठाउनुपर्ने अडान राखेपछि उनको केही जोर चलेन।
एमालेको रुपन्देही जिल्ला कमिटी बैठकमा क्षेत्रीय कमिटीबाट सिफारिस भएर आएका नाम प्रस्तुत गर्ने क्रममा भने विश्वकर्माले भुसालको नाम जिल्ला अध्यक्ष तेजेन्द्र केसीलाई हटाउन लगाए। भुसालको नाम हटाएर तीन जनाको नाम जिल्ला कमिटी बैठकमा प्रस्तुत गरिएको थियो। तर, त्यहाँबाट प्रदेश कमिटिमा नाम पठाउँदा विश्वकर्माले जिल्ला इन्जार्ज भूमिश्वर ढकाललाई चापागाईं र रौनियारको नाम हटाइ आफ्नो एकल नाम सिफारिस गर्न भने। बैठकमा सहभागी एक नेता भन्छन्, “उहाँले ढकाललाई विश्वकर्माले कि अरु दुई जनाको नाम काट्न, नभए आफ्नो नाम काटिदिन धम्की दिँदै हप्काउनुभो।”
२०७४ सालको स्थानीय तह निर्वाचनमा ११२ मतले देवदह नगरपालिकाको मेयरमा पराजित चापागाईं यसपालिको स्थानीय तह निर्वाचनपछि विश्वकर्मासँग टाढिंदै गएका थिए। प्रतिनिधिसभा निर्वाचनका लागि नाम सिफारिस प्रकरणपछि भने एमालेको देवदह नगर कमिटी अध्यक्षसमेत रहेका उनले एमाले नै छाडे र विश्वकर्माकै विरुद्ध उभिए।
“अहिले छविलाल आफ्नै ब्यहोराले समस्यामा छन्। उनले आफ्नो क्षेत्रमा आफूले सक्ने जति काम पनि गरेका छन्। तर, त्यो भन्दिने मान्छे पनि छैनन्। उनले कार्यकर्ता पंक्तिलाई आफ्नो बनाएर राख्न सकेनन्,” एमालेका एक नेता भन्छन्, “छविलालले चाहँदा १० जनाको नाम पठाउँदा पनि उनले टिकट नपाउने भन्ने हुँदैनथ्यो। तर, नाम सिफारिसकै क्रममा त्यति ठूलो बबण्डर गर्नुपर्ने थिएन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
