मंसिर ४ को निर्वाचनमा भरतपुर क्षेत्रबाट रवि लामिछानेले अत्यधिक मत पाएका थिए। यसपटक कांग्रेस, एमालेसहित तीनै दलले चुनावी अभियानलाई भरतपुरमै केन्द्रित गरेका छन्।
चितवन- भरतपुरको पूर्णिमा चोकस्थित किराना पसलमा केही महिला छलफलमा थिए। उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका समर्थक रहेछन्।समर्थक मात्र होइन, लामिछानेका लागि चुनावी माहोल नै बनाउन उनीहरू योजना बनाइरहेका रहेछन्।
कुराकानीका क्रममा नाम भने खुलाउन चाहेनन्। त्यही समूहकी एक महिलाले भनिन्, “देशमा राम्रो मान्छेको खुट्टा तान्नेहरू धेरै छन्। तर केही छैन, हाम्रो काम जिताउने हो, जिताएरै छाड्छौँ।”
उता, जनपथ मार्गमा चट्पटे र पानीपुरी पसल थापेर बसेकी कान्छीमाया मानन्धरले मत कसलाई हाल्ने भनेर अहिले भन्न नमिल्ने बताइन्। तर, मंसिर ४ गते चुनाव जितेका लामिछानेविरुद्ध षड्यन्त्र भएको बताउँदै थिइन्।
मंसिर ४ को निर्वाचनमा चितवन-२ बाट रास्वपाका लामिछाने भारी मतान्तरले निर्वाचित भएका थिए। कुल ८३ हजार ९५६ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९ हजार २६४ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत पाएका थिए।
पुन: नागरिकता प्राप्तिको प्रक्रिया नपुगेको भन्दै सर्वोच्च अदालतले उनी उम्मेदवार बन्न नै अयोग्य रहेको फैसला सुनाएपछि चितवन-२ को प्रतिनिधिसभा सदस्य खाली भएको थियो। यसपटक रास्वपाबाट लामिछाने फेरि उम्मेदवार छन्। कांग्रेसले जितनारायण श्रेष्ठ र एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएका छन्। श्रेष्ठ र न्यौपाने दुबै युवा र नयाँ उम्मेदवार हुन्।
भरतपुर विक्रममार्गमा कोल्ड ड्रिंक्स पसल चलाइरहेका रामप्रसाद पौडेल लमजुङका मतदाता हुन्। उनी भरतपुरमा पसल गर्न थालेको ६ वर्ष भयो। अघिल्लोपटक जस्तै यसपटक पनि तीन पार्टीकै चहलपहल देखिएको उनी बताउँछन्। यसपटक पहिलाजस्तो ठूलो मतान्तर भने नहुने उनको अनुमान छ।
त्यही क्षेत्रकी ललिता तामाङ भने सरकारी कर्मचारीको काम गर्ने पाराबाट दिक्क छिन्। “राम्रो मान्छे नभएर यहाँ सबै लथालिंग भएको छ। राम्रो मान्छेलाई जिताउनुपर्छ भनेर यहाँ टोलभरिका मान्छेहरूको सल्लाह छ। भोट नयाँ पार्टीमा जान्छ,” तामाङ भन्छिन्।
महामन्त्रीभन्दा बढी प्रसाईंलाई महत्त्व
मंगलबार बिहान ७ बजे बुद्ध चोकमा रास्वपाको कोणसभा थियो। सभामा उपस्थितिका लागि सोमबार दिउँसैदेखि माइकिङ भइरहेको थियो। माइकिङ गर्नेले रास्वपा सांसद विराजभक्त श्रेष्ठ र केन्द्रीय सदस्य रमेश प्रसाईंको समेत उपस्थिति रहने प्रचार गरिरहेका थिए।
७ बजे भनिएको सभामा ८ बजे रातो कारमा रमेश प्रसाईंसँग महामन्त्री मुकुल ढकाल पनि ओर्लिए। सांसद श्रेष्ठ आएनन्।
चोकमा करिब २०० जनाको भीड जम्मा भइसकेको थियो। प्रसाईं आउनु अगाडि वडाका केही रास्वपा समर्थक भाषण गरिरहेका थिए। कोही कविता भन्दै थिए।
रमेश प्रसाईं आएलगत्तै भीड बढ्न थाल्यो। प्रसाईंको भाषण चल्दै गर्दा एमालेको झण्डा बोकेको टेम्पो चुनावी अभियानको गीत बजाउँदै आयो र गयो। तर सभामा उपस्थितको ध्यान भने प्रसाईंको भाषणतिरै केन्द्रित थियो।
प्रसाईंको भाषण सकिएपछि माइक महामन्त्री ढकाललाई जिम्मा लगाइयो। मान्छे उठेर लाखापाखा लागे। ढकाल बोल्दै गर्दा भीड पातलो भइसकेको थियो।
कांग्रेसको सम्पर्क कार्यालयमा 'घण्टीको चर्चा'
बुद्ध चोकभन्दा ५०० मिटर पर कांग्रेसको चुनावी सम्पर्क कार्यालय छ। कार्यालयअगाडि १०–१२ जना कार्यकर्ता गफ गरिरहेका थिए। उनीहरूको चासो काठमाडौँका मेयर बालेन शाह र संघीय सरकारबीचको सम्बन्धमा थियो।
त्यहाँ न कांग्रेस उम्मेदवार श्रेष्ठको चुनावी अभियानबारे चर्चा थियो, न चुनावी माहोलबारे। हाम्रो प्रश्नमा एक जनाले घन्टी र रुखकै प्रतिस्पर्धा रहेको बताए। तर, प्रतिस्पर्धामा अहिलेसम्म घन्टी नै अगाडि रहेको उनको भनाइ थियो।

सम्पर्क कार्यालयछेउ बलबहादुर वस्तीको खाजा पसल छ। वस्तीका अनुसार कांग्रेस समर्थकहरू बेलाबेला सम्पर्क कार्यालय आउँछन्। उनी भन्छन्, “अघिल्लो चुनावमा मेरो पसल नै घण्टीमय बनेको थियो। यसपटक छेउमै कांग्रेसको सम्पर्क कार्यालय भएर होला, कम भएको छ। तर सबैलाई थाहा छ घन्टीले जित्छ भनेर।”
सम्पर्क कार्यालयअगाडि ह्विलचेयरमा बसेका इन्द्रबहादुर श्रेष्ठ भने कांग्रेसका उम्मेदवारले नै जित्नेमा ढुक्क भएको बताउँछन्। कांग्रेसको झण्डा बोकेका उनी कांग्रेसभन्दा घण्टीको मत कम आउने दाबी गर्छन्। “हामीले हाम्रो तर्फबाट गर्ने सबै (प्रयास) गरिसक्यौँ, अब नतिजाको मात्रै पर्खाइ छ,” उनी भन्छन्, “भन्नेले त घण्टी नै भनिरहेका छन्। देखिने पनि घण्टी नै होला, तर परिणाम हाम्रै पक्षमा आउँछ।”
एमाले सम्पर्क कार्यालयमा कम चहलपहल
कांग्रेसको सम्पर्क कार्यालयभन्दा २०० मिटर पर एमालेको सम्पर्क कार्यालय छ। मंगलबार हामी पुग्दा कार्यालयको सटर बन्द थियो। एमालेका उम्मेदवार र कार्यकर्ता घरदैलोमा लागेका थिए। छेउमै रहेको कस्मेटिक पसलकी सञ्चालक सुभा दवाडी सम्पर्क कार्यालयमा खासै चहलपहल नहुने गरेको बताउँछिन्। उनले आफैँ पनि भर्खरै रमेश प्रसाईंको भाषण सुनेर आएको बताइन्।
“घण्टीको चहलपहल राम्रो देखिरहेका छौँ। कांग्रेस र एमालेका उम्मेदवारहरू पनि भोट माग्न आएका छन्,” उनी भन्छिन्,।
अहिले सबै दलले प्रचार अभियानलाई सदरमुकाम भरतपुरमा केन्द्रित गरेका छन्। मंसिर ४ को निर्वाचनमा पहाडी क्षेत्रबाट एमालेले अग्रता बनाए पनि प्रतिस्पर्धाको अवस्था थियो। तर भरतपुर क्षेत्रको गणना शुरू भएपछि लामिछानेले अन्य उम्मेदवारलाई धेरै मतान्तरले पछि पारेका थिए।
यसपटक कांग्रेस र एमाले आफ्ना पुराना मतदाता फर्काउने ध्याउन्नमा छन्। लामिछाने भने आफूले पाएको मत सुरक्षित गर्ने अभियानमा रहेको स्थानीय बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
आदित्य नेपाल
