“हाम्रो समूहको बलियो टोली ओमान नै हो। त्यो खेल जित्यौँ भने समूह चरणको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुन्छ। त्यसैले बेस्ट दिन्छौँ,” कप्तान रोहित भन्छन्।
काठमाडौँ– एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले प्रिमियर कपका लागि समूह विभाजन गर्दा नै यसपटक नेपाललाई टक्कर दिने टोली ओमानलाई ठानिएको थियो। यसकारण पनि उसलाई बलियो मान्न सकिन्थ्यो कि विश्वकप क्रिकेट लिग-२ को शीर्ष दुईमा परेको ओमान नेपालसामू विगतमा पनि हाबी हुँदै आएको थियो। यही समूहमा रहेका मलेसिया, साउदी अरब र कतारले भने यसअघि नेपाललाई कडा टक्कर दिन सकेका छैनन्। मंगलबार पनि त्यस्तै भयो। समूह ‘ए’को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै विजयी शुरूआत गर्यो।
खेलपछि मलेसियाका कप्तान अहमद फैजले बलियो प्रतिद्वन्द्वी नेपालसँग आफूहरूले प्रतिस्पर्धा नै गर्न नसकेको स्वीकार गरे। “नेपालले भर्खरै ओडीआई मान्यता जोगाएको छ। र, मलाई लाग्छ मलेसियाविरुद्ध उनीहरूलाई खेल्न सजिलो थियो। नेपालले सबै स्थानबाट हामीलाई दबाब दियो र पराजित गर्यो।”
सेमिफाइनल पुग्ने लक्ष्य बोकेर नेपाल ओर्लिएका फैजले ९५ बलमा ७६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। तर, मलेसियाले बलिङमार्फत नेपाललाई दबाब दिन सकेन। खेलपछि सञ्चारकर्मीमाझ उपस्थित भएका उनको मनोबल खस्किएको भान हुन्थ्यो। किनभने २ अंकको महत्त्व कति थियो उनले राम्ररी बुझेका छन्।
तर, पहिलो खेलमै फराकिलो जित हासिल गरेपश्चात् नेपाली टोलीको मनोबल उच्च छ। नेपालले ८ गते दोस्रो खेलमा बलियो मानिएको प्रतिद्वन्द्वी ओमानको सामना गर्ने छ। ओमानको सामना गर्नुअघि मलेसियाविरुद्ध नेपाललाई जित दिलाउन ७१ रनको इनिङ्स खेलेका अलराउन्डर भीम सार्की निडर देखिन्छन्।
“लिग-२ का १२ मध्ये ११ खेल जित्न सक्छ भनेर कसैले विश्वास गरेका थिएनन्। तर, हामीले जित्यौँ नि! यो जितसँगै हामीमा आत्मविश्वास जागिसकेको छ। त्यसैले ओमानविरुद्ध पनि राम्रो गर्न सक्छौँ भन्ने लागेको छ,” मंगलबारकाे खेलपछि उनले भने।
सन् २०१० मा पहिलोपटक एसीसी एलिट ट्रफीको समूह चरणमा नेपाल र ओमानबीच भेट भएको थियो। कुवेतको अहमदी सिटीमा भएको ५० ओभरको खेलमा नेपाल ६ विकेटले विजयी भयो। त्यसको तीन वर्षपछि डिभिजन–३ मा पुनः नेपाल र ओमानको भेट भयो। उक्त खेलमा पनि नेपालले ओमानलाई २८ रनले पराजित गर्यो। त्यसयता ओमानलाई पराजित गर्न नेपालले लामो समय संघर्ष गर्नुपर्यो।
सन् २०१४ को एसीसी प्रिमियर लिगअन्तर्गत समूह चरणको खेल, २०१५ को अभ्यास र २०१८ को एशिया कप क्वालिफायरमा नेपाल ओमानसँग पराजित भयाे। अझ लिग–२ सम्मको यात्रा नेपालसँगै तय गर्दा त ओमान शक्तिशाली भएर उदायो।
३६ खेलको लिग–२ को साइकल सकिँदा ओमान नेपाललाई ४ अंकले पछि पार्दै शीर्ष २ मा रह्यो। उसले लिग–२ का चारमध्ये २ खेलमा नेपाललाई नै पराजित गरेको थियो। तर, पछिल्लो समय नेपालले आफ्नो खेलमा उल्लेख्य सुधार गरेको छ। नेपाली क्रिकेट लयमा फर्किएका कारण ओमानसँग डराउन नपर्ने बताउँछन्, भीम।
“वान बल ब्याटल गइरहेका छौँ। सबै गेम यसरी नै खेलिरह्यौ भने एशिया कप पनि खेल्छौँजस्तो लागिरहेको छ,” उनी भन्छन्, “मैले पहिलो पटक ओमानसँग यही (कीर्तिपुर)मा अभ्यास खेल खेलेको हुँ। ओमानको बलिङ त्यति राम्रो छैन। ओमानको टोलीमा यूएईका झैँ बलर छन्। खासै फरक पर्छ जस्तो लाग्दैन।”

नेपालले जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाएको छ। नेपालले त्यहाँ पनि ओमानको सामना गर्ने छ। त्यसअघि ओमानलाई पराजित गर्दै नेपाली टोली मनोबल उच्च राख्न चाहन्छ। भीमले भनेझैँ असम्भजस्तै देखिएको नतिजा हात पारेको नेपालले आफूलाई प्रिमियर कपको बलियो दाबेदारका रूपमा उभ्याएको छ।
तर, नेपालसँगै ओडीआई मान्यता ‘रिटेन’ गरेका ओमान र यूएई यस प्रतियोगिताको बलियो उपाधि दाबेदार हुन् भन्दा फरक नपर्ला। मंगलबार मलेसियाविरुद्ध जित हात पारेको नेपालको लक्ष्य ओमान, साउदी र कतारलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बन्ने छ।
लक्ष्यअनुसार अगाडि बढेमा यूएईसँग सेमिफाइनल या फाइनलमा नेपालको भेट हुन सक्छ। ओमान पनि आफ्नो लक्ष्यमा अडिक रहे फाइनलमा नेपालसँगै पनि खेल्न सक्छ। समूह ‘बी’मा यूएईको अलवा सिंगापुर पनि कुनै न कुनै मोडमा अनपेक्षित नतिजा निकाल्न सक्ने टोली हो। उसले मंगलबार मूलपानीमा भएको खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै यसको संकेत दिइसकेको छ।
मुख्य प्रशिक्षक मोन्टी देसाईले खेलाडीका कमीकमजोरी सुधार गर्दै लगेका कारण आफू र आफ्नो टोलीले लक्ष्यअनुसार प्रदर्शन गर्न सक्नेमा भीम विश्वस्त देखिन्छन्।
“प्राक्टिसमा सर (मुख्य प्रशिक्षक)ले कुन मान्छे, कुन एरियामा कमजोर छ त्यसलाई सुधार गर्न फोकस गर्नुभएको छ। त्यसैले टोलीको प्रदर्शनमा इम्प्रुभ हुँदै गएको छ। म पनि जुनै पोजिसनमा खेल्न सक्ने भएको छु। त्यसैले राम्रो गर्छौँ भन्ने छ,” उनी भन्छन्।
ओमानविरुद्ध राम्रो गर्छौं : रोहित
नेपाल र ओमानबीचको खेलले ओडीआईको मान्यता प्राप्त गर्ने छ। योसँगै नेपालले घरेलु मैदानमा ५० ओडीआईको कोशेढुंगा छुने छ। कप्तान रोहितकुमार पौडेल ओमानविरुद्धको खेल जिते नेपाल समूह ‘ए’को शीर्ष स्थानमा पुग्न सक्नेमा विश्वस्त छन्। उनले ओमान बलियो टोली भए पनि एउटा खेलझैँ हेरिरहेको बताउँदै राम्रो गर्ने बताए।
“एउटा गेम हो, त्यहीअनुसार फिल गरिरहेका छौँ। तर, हाम्रो समूहको बलियो टोली ओमान नै हो। त्यो खेल जित्यौँ भने हामी समूह चरणको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुन्छ। त्यसैले बेस्ट दिन्छौँ,” उनले भने।
मलेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक देसाईले अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र तीव्र गतिका बलर करण केसीलाई आराम दिएका थिए। मल्लको स्थानमा देसाईले लिग–२ अन्तर्गत घरेलु टोली यूएईविरुद्ध ७० रनको इनिङ्स खेलेका भीमलाई मौका दिएका थिए।
२३६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमै गुमायो। त्यसपछि क्रिजमा आएका भीमले दोस्रो विकेटका लागि अर्का ओपनर कुशल भुर्तेलसँग ४८ रनको साझेदारी गरे। कुशल तीव्र गतिका बलर रिजवान हैदरको १०औँ ओभरको पहिलो बलमा स्क्वायर लेगमा खिजायर ह्यातबाट ३८ रनमा क्याच आउट भए।
तर, भीम क्रिजमा टिकिरहे। पाँचौँ नम्बरमा आएका कुशल मल्लसँग ११६ रनको शतकीय साझेदारी गर्दै उनले नेपाललाई ८२ बल बाँकी छँदै ६ विकेटको जित दिलाए। पछिल्लो समय युवा खेलाडीले राम्रो प्रदर्शन गरेसँगै ज्ञानेन्द्र र करण टोलीमा स्थान बनाउन संघर्षरत छन्। ज्ञानेन्द्रको स्थान यसअघि यू-१९ का कप्तान देव खनालले धरापमा पार्दिएका थिए। तर, लेग स्पिनर सन्दीप लामिछाने नाबालिग बलात्कार मुद्दामा मुछिएपछि उनलाई नेपाल क्रिकेट संघ (क्यान) र सिनियर राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिका पदाधिकारीले हेर्ने नजर नै परिवर्तन भयो।
यस प्रतियोगिताका लागि उनी प्रारम्भिक टोलीमा समेत परेका थिए। तर, ज्ञानेन्द्र टोलीका अनुभवी खेलाडी भएको भन्दै देवलाई स्थान नै दिइएन। यता, अलराउन्डरको भूमिकामा अब्बल देखिएका गुलशन पनि करणका लागि तगारो बन्दै आएका छन्। त्यसैले पछिल्लो समय टोलीको प्लेइङ ११ मा स्थान बनाउन प्रतिस्पर्धा चर्को प्रतिस्पर्धा छ।
कप्तान रोहित भने खेलको अवस्था बुझेर ज्ञानेन्द्र र करणले टिम बाहिर बस्न आनाकानी नगरेको दाबी गर्छन्। त्यसैले पछिल्लो समय आफूलाई सजिलो भइरहेको उनले बताए। “ज्ञानु (ज्ञानेन्द्र) दाइ र करण दाइले अवस्थालाई राम्रोसँग बुझिराख्नु भएको छ। त्यसैले मलाई एकदमै सजिलो भएको छ। ज्ञानु र करण दाइले टिमका लागि राम्रो स्क्वाड खेलाउन मलाई सपोर्ट पनि गरिरहनु भएको छ,” उनी भन्छन्।
नाबालिग बलात्कारको आरोपमा सन्दीप लामिछाने चार महिने निलम्बनमा परेसँगै रोहितले कप्तानी जिम्मेवारी पाएका हुन्। नेपालकै कान्छो कप्तान रहेका रोहितलाई पछिल्लो समय टोलीका सबै सदस्यले स्वीकार गरेका छन्। त्यसैले उनमा कुनै दबाब देखिँदैन। मंगलबार मलेसियाविरुद्धको खेलमा पनि उनी दबाबमा देखिएनन्। उनले ४३ बलमा ४२ रनको कप्तानी इनिङ्स खेले।
उनी पछिल्लो समय सबैले राम्रो गरिरहेको कारण २५० भन्दा कम लक्ष्य सहजै 'चेज' गर्न सक्ने स्थिति रहेको दाबी गर्छन्। त्यसैले पनि जारी प्रतियोगितामा ओमानलाई मात्रै होइन, अन्य टोलीलाई पनि पराजित गर्दै एशिया कपसम्म पुग्ने लक्ष्य रहेको उनी सुनाउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
