प्रधानन्यायाधीशको सिफारिस हुन सकेन, संवैधानिक परिषद् बैठक निष्कर्षविहीन

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल भए पनि कुनै निर्णय भने नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन्।

तस्वीर : रासस

काठमाडौँ– प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन भएको छ।

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा नियुक्तिका बारेमा छलफल भए पनि कुनै निर्णय भने नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

प्रधानन्यायाधीश नियुक्तिका लागि भन्दै प्रमुख दलहरूबीच छलफल भएर बैठक बस्ने सहमति भएको थियो। सोही अनुसार परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका थिए।

तर, बैठकले प्रधानन्यायाधीश सिफारिसको निर्णय भने गर्न सकेन। अध्यक्ष तिमिल्सिनाका अनुसार पुनः बैठक बसेर निर्णय गरिनेछ। तर, अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागिसकेको छैन।

बैठकमा प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुनमन्त्रीको समेत जिम्मेवारी पाएका रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।

सर्वोच्च अदालत लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथी महाअभियोग लागेदेखि नै सर्वोच्च अदालत कायममुकायमको भरमा छ।