ब्राजिलको राष्ट्रपतिमा लुला निर्वाचित

लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्।

तस्वीर : एफपी

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो लुला दा सिल्भा निर्वाचित भएका छन्। उनले वर्तमान राष्ट्रपति जाइर बोल्सोनारोलाई २१ लाख ३९ हजार मतान्तरले पराजित गरेका हुन्। न्युयोर्क टाइम्सका अनुसार लुलाले २०२३ जनवारी १ बाट राष्ट्रपतिको कार्यभार समाल्ने छन्। तबसम्म बोल्सोनारोको कार्यवाहक राष्ट्रपति रहने छन्।

राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान अक्टोबर ३० मा भएको थियो। ७७ वर्षीय लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्। ब्राजिलको संविधानअनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ। गत महिना भएको पहिलो चरणको मतदानमा लुलाले ४८.४ प्रतिशत र बोल्सोनारोले ४३.२३ प्रतिशत मत पाएका थिए।

लुला यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए। ब्राजिलको सरकारी तेल कम्पनी पेत्रोब्राससँग ठेक्का सम्झौता गर्दा एक ब्राजिलियन निर्माण कम्पनीबाट घुस लिएको आरोपमा १९ महिना जेल बसेका वामपन्थी धारका लुला जेलमुक्त भएपछि पुनः राष्ट्रपति चुनिएका हुन्।

बोल्सोनारोमाथि भ्रष्टाचार गरेको, कोरोनाको महामारी व्यवस्थापनमा लापरबाही गरेको, अमेजन जंगल बचाउन ध्यान नदिएको, जातीय हिंसा भड्काएको लगायतका आरोप लागेपछि उनको लोकप्रियता घटेको थियो।

यता, लुलाले चुनावी अभियानका क्रममा आफूलाई मत नदिनेलाई पनि आफूले भोट दिनेलाई जस्तै समान व्यवहार गर्ने भनेका थिए। यस्तै, आफू राष्ट्रपति बने अमेजन जंगलको संरक्षणमा प्राथमिकता दिने र ब्राजिलमा एकता कायम गर्ने प्रतिबद्धता जनाएका थिए। उनले आफूलाई राजनीतिक प्रतिशोधका कारण जेल पुर्‍याइएको भन्दै अब त्यसको बदला लिने र ब्राजिलमा आमूल परिवर्तन गर्ने बताएका थिए।

राष्ट्रपतिमा चुनिएपछि सम्बोधनका क्रममा लुलाले भने, “उनीहरूले मलाई जिउँदै गाड्न खोजेका थिए तर यहाँ छु।” चुनावका बेला दुई प्रतिस्पर्धीबीच आरोपको शृंखला नै चलेको थियो।