फक्स न्युजले ७८७.५ मिलियन डलरमा सुल्झायो डोमिनियनसँगको मानहानी मुद्दा

फक्स न्युजको मानहानि मुद्दा समाप्त भएको भने छैन। अर्को चुनावी प्राविधिक कम्पनी स्मार्टम्याटिक्सले समेत फक्समाथि मानहानि मुद्दा चलाएको छ।

फक्स न्युजले भोटिङ मेसिन कम्पनी डोमिनियनको मानहानि मुद्दा ७८७.५ मिलियन डलरमा सुल्झाएको छ।

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पविरुद्ध धाँधली भएको भन्ने झुटो दाबीले व्यापारमा असर पुगेको भन्दै डोमिनियनले फक्स न्युजविरुद्ध १.६ बिलियन डलर क्षतिपूर्ति मागसहित मानहानि मुद्दा चलाएको थियो। जसमा फक्स न्युजले ७८७.५ मिलियन डलर क्षतिपूर्ति भर्ने सहमति भएको छ।

अमेरिकामा भएको मानहानीको सुनुवाइले पत्रकारिताको उच्चतम मापदण्डलाई प्रतिबिम्बित गर्ने फक्सले जनाएको छ। यद्यपि, फक्सले सहमतिबारे थप बोल्न नचाहेको बताइएको छ।

यता, डोमिनियनका प्रमुख कार्यकारी जोन पाउलोसले पत्रकार सम्मेलनमा भने, “मेरो कम्पनीमाथि ठूलो नोक्सानी पुर्‍याएको झुटलाई फक्सले स्वीकार गरेको छ।” डोमिनियनका वकिल जस्टिन नेल्सनले पनि सत्य महत्त्वपूर्ण भएको बताएको बीबीसीले उल्लेख गरेको छ।

“प्रजातन्त्र बचाउने हो भने अमेरिकी जनताले सत्यतथ्यप्रतिको प्रतिबद्धता कायम राख्नुपर्छ। झुटा कुराको परिणाम देखिन्छ,” नेल्सनले भने, “पछिल्लो दुई वर्षता व्याप्त झुटका कारण डोमिनियन र निर्वाचन अधिकारीलाई अमेरिकाभर षड्यन्त्रको सिद्धान्तको एक वैकल्पिक दुनियामा लगेको थियो। जसले डोमिनियन र देशलाई नै गम्भीर आघात पुगेको थियो।” 

यसैबीच, डोमिनियनले अन्य दुई न्युज च्यानल ओएएन र न्युजम्याक्सविरुद्धको मुद्दा कायमै राखेको छ। कम्पनीले ट्रम्पका मित्रहरू रुडी जुलियानी, सिड्नी पावेल र माइक लिन्डेलविरुद्ध पनि मुद्दा चलाएको छ।

यता, न्युज च्यानल फक्सको पनि मानहानि मुद्दा समाप्त भएको छैन। अर्को चुनावी प्राविधिक कम्पनी स्मार्टम्याटिक्सले समेत फक्समाथि मानहानि मुद्दा चलाएको छ। जसमा क्षतिपूर्ति बापत २.७ बिलियन अमेरिकी डलर दाबी गरिएको छ।