नेप्सेमा दोहोरो अंकको सुधार, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले सुधार भएको छ। कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकले सुधार भएको छ। नेप्से परिसूचक १५.१३ अंकले बढेर १ हजार ९२०.१२ अंक कायम भएको छ।

बुधबार २७३ वटा कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता शेयर २३ हजार ५०३ पटक खरिदबिक्री भयो। जसमा कारोबार रकम ८७ करोड २१ लाख ४१ हजार छ। मंगलबार पनि ८७ करोड रुपैयाँ बराबरकै शेयर किनबेच भएको थियो।

म्युचुअल फन्ड समूहको उपसूचक ०.०६ अंकले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७०.८४ र जीवन बीमा समूह ६२.९२ अंकले बढेको छ।

बैंकिङ ९.४४, विकास बैंक ४४.१२, वित्त १८.१३, होटल तथा पर्यटन समूह १९.०५, जलविद्युत् २१.९७ र लगानी समूह ०.६३ अंकले बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५.१५, लघुवित्त समूह ३२.१६, व्यापार समूह २८.८८ र अन्य समूह ६.४६ अंकले बढेको छ।

कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र शेयर संख्याका आधारमा सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर ८ करोड ८३ लाख १३ हजार ३०० बराबरको एक लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ।