लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ

यार्सा संकलन गर्ने समयअगाडि नै लुकीछिपी पाटन नछिर्न शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ। निकुञ्ज कर्मचारी र सेनाले सो क्षेत्रमा गस्ती गरिरहेका छन्।

डोल्पा- तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्।

यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज  र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए। 

उनीहरु सबै निकुञ्जको तोइजुम पोष्टबाट पक्राउ परेका हुन्। डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा संकलनका लागि पाटन जान खुलाउने गरिन्छ। 

त्यसैगरी, कुनासा र पुनिखा पाटनमा अवैध रूपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले निगरानी गरेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिए। 

यस वर्षको यार्सा संकलन गर्ने समय नजिकिँदै गर्दा एक सातादेखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ। यार्सा संकलन गर्ने समयअगाडि नै लुकीछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ। नियमित गस्तीका क्रममा पाटनमा कोही भेटिए पक्राउ गरी नियमानुसार कारबाही गरिनेसमेत निकुञ्जले जनाएको छ।