प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्या प्राथमिकतामा पर्छ : मन्त्री शर्मा

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका विषय प्राथमिकतामा पर्ने उनको भनाइ छ।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन्।

बिहीबार वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकी नसकिएको बताइन्।

उनले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरूबारे मन्त्रालयहरूले प्राथमिकताका आधारमा सुझाव दिने बताइन्। प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका विषय प्राथमिकतामा पर्ने उनको भनाइ छ।

“भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो। सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेछन्,” उनले भनिन्। मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारतसँग छलफलका अजेन्डाहरू तय गर्ने पनि बताइन्।