उम्मेदवारलाई फसाउने नियतले उजुरी आएः आयुक्त भण्डारी

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरी अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणसहित आएको बताएका हुन्। 

काठमाडौं– निर्वाचन आयोगमा केही उजुरी उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ। सोमबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरी अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणसहित आएको बताएका हुन्। 

"कतिपय उजुरी सत्यतामा आधारित छन्। कतिपय अरूलाई फसाएर फाइदा लिने प्रयोजनका लागि झुटा विवरणका उजुरी पनि छन्। त्यसो भएकाले आयोगले ती उजुरीउपर पहिला के हो तपाईंको तथ्यगत भनाइ भनेर उहाँ (उम्मेदवार)लाई आफ्नो स्पष्टीकरण पेस गर्ने मौका दिएको हो," उनले भने।

निर्वाचन आयुक्त भण्डारीले आयोगमा आएका उम्मेदवारविरुद्धका १५० वटा उजुरीमध्ये ५० वटा मात्रै कारबाहीका लागि योग्य रहेको जानकारी दिए। उनले विगतको निर्वाचनमा भन्दा अहिले हुन गइरहेको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना कम देखिएको समेत बताए। 

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पनि उल्लेख गरे। आयोगले निर्वाचन आचारसंहिताको उल्लंघनका घटनाको उजुरीमाथि छानबिन गर्ने क्रम जारी रहेको जनाएको छ। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।