एसीसी प्रिमियर कपमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको छ। नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो।
काठमाडौँ– कुशल मल्लको शतकप्रेरित नेपालले एसीसी प्रिमियर कपको दोस्रो खेलमा ओमानलाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो।
ओमानले आक्रामक शुरूआत गरेको थियो। तर, पाँचौँ ओभरको तेस्रो बलमा ओपनर जतिन्दर सिंह १२ बलमा २ चौका प्रहार गर्दै १५ रनमा ललितनारायण राजवंशीको बलमा बोल्ड भए।
उनले अर्का ओपनर कश्यप प्रजापतीसँग ३२ रनको साझेदारी गरेका थिए। १३औँ ओभरको तेस्रो र चौथो बलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लगातार विकेट लिए। उनले ३३ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाएर खेलिरहेका अदिल अहमद शफिकलाई एलबीडब्लु धरापमा पारे। लगत्तै ओमानका कप्तान जिशान मकसूद तीन बल खेल्दै डकआउट भए।
त्यसपछि कश्यप पनि ३५ बलमा ३ चौका प्रहार गर्दै २५ रनमा सन्दीपबाटै एलबीब्ल्यू धरापमा परे। उनी १५औँ ओभरको पहिलो बलमा आउट भएका थिए।
४–५५ को स्थितिमा रहेको बेला ओमानको इनिङ्स मोहम्मद नादिम र आयन खानले उकासेका थिए। आयन २३औँ ओभरको पाँचौँ बलमा क्याच आउट भए। उनले २८ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाएका थिए।
आयन र नादिमले छैटौँ विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए। सातौँ नम्बरमा आएका सन्दीप गौडले ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रन बनाए।
उनी ४२औँ ओभरको पहिलो बलमा सोमपालबाट क्याच आउट भए। अत्यसपछि नदिम पनि ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरेर ६५ रनमा आउट भए।
नेपालका करण केसी र सन्दीप लामिछानेले ३/३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ र ललितनारायण राजवंशीले १ विकेट लिए।
खानको विश्व कीर्तिमान ५ वर्षपछि भंग
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तानका राशिद खानको विश्व कीर्तिमान भंग गरेका छन्। खानले सन् २०१८ मा हरारेमा भएको वेस्ट इन्डिजविरुद्धको १ विकेट लिँदै ४४ खेलमा सर्वाधिक १०० विकेट लिने कीर्तिमान बनाएका थिए। उक्त कीर्तिमान पछिल्लो ५ वर्षमा कसैले भंग गर्न सकेकका थिएनन्। तर, सन्दीपले ओमानविरुद्धको खेलमा अदिल शफिकको विकेट लिँदै ४२औँ खेलमा उक्त कीर्तिमान भंग गरेका हुन्।
उनले आफ्नो स्पेलको तेस्रो बलमै आदिललाई एलबीडब्लू धरापमा पर्दै पेभिलियन पठाएका थिए। नेपालमै गएको मार्च १६ मा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा कप्तान मोहम्मद वासिमलाई एलबीडब्लू धरापमा पार्दै सन्दीपले ९९औँ विकेट पूरा गरेका थिए। उक्त खेलमा थप विकेट लिन नसकेपछि ४१ खेलमा नै १०० विकेट पुर्याउने मौका गुमाएका थिए। उक्त खेलमा उनले १० ओभर बलिङ गर्दै ८० रन खर्चिएका थिए।
सन्दीपले सन् २०१८ अगस्ट १ मा नेदल्यान्ड्सविरुद्ध भएको खेलमार्फत राष्ट्रिय टोलीमा ओडीआई डेब्यू गरेका थिए। डेब्यू खेलमा सन्दीपले १० ओभर बलिङ गर्दै ४० रन खर्चिएर १ विकेट लिएका थिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकशूदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए। पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनायो। नेपालले ओडीआईमा बनाएको यो सर्वाधिक उच्च स्कोर हो। यसअघि सन् २०२३ मार्च ९ मा पपुवा न्युगिनीसँग भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले २९७ रन बनाएको थियो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रनको शतकीय इनिङ्स खेले। यता, तल्लो क्रमका सोमपाल कामीले अविजित रहँदै ६३ रन बनाए।
आकास धुम्म भएको अवस्थामा क्रिजमा उत्रिँदा नेपाललाई शुरूआती ५ ओभरसम्म ब्याटिङ गर्न असहज भएको थियो। दुवै ओपनर नेपालले शून्य रनमा गुमाएको थियो। नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमायो। उनी ८ बल खेलेर बिलाल खानको बलमा बोल्ड भए।
अर्का ओपनर चौथो ओभरको चौथो बलमा आउट भए। उनलाई कलिमुल्लाहले बोल्ड गरेका थिए। नेपालले २७ बल डट खेलेपछि पहिलो रन जोडेको थियो। पाँचौँ ओभरको चौथो बलमा भीम सार्कीलाई एक रन दिएका थिए। त्यसपछि भीम र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे।
रोहित १८औँ ओभरको पहिलो बलमा कश्यप प्रजापतीबाट क्याच आउट भए। फय्याज बटले फ्याँकेको बललाई प्रहार गर्दा टप एजमा लागेर उनी कश्यपबाट क्याच आउट भएका हुन्। आउट हुनुपूर्व रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए। भीम पनि २१औँ ओभरको तेस्रो बलमा ओमानका विकेट किपर अदिल अहमद शफिकबाट स्टम्पिङ भए। ओमानका कप्तान जिशान मकशूदले फ्याँकेको बललाई स्विप गर्न खोज्दा खुट्टा हावामा रहेको बेला शफिकले स्टम्पिङ गरे।
चौथो विकेटका लागि भीम र आरिफ शेखबीच १८ रनको मात्रै साझेदारी भएको थियो। भीमले ५६ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाए।
२०.३ ओभरमा ४–७२ को स्थितिमा रहेको नेपालको इनिङ्स आरिफ र कुशल मल्लले उकासेका थिए। उनीहरूबीच पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी भएको थियो। आरिफ ३२औँ ओभरको पहिलो बलमा छक्का प्रहार गर्ने क्रममा क्याच आउट भए। जतिन्दर सिंहको बलमा उनले स्क्वार लेगमा छक्का प्रहार गर्ने प्रयास गरेका थिए। तर, कलिमुल्लाहबाट ब्राउन्ड्री लाइनबाटै क्याच आउट भए। उनले ४२ बलमा २ चौकासहित २९ रन बनाए।
सातौँ नम्बरमा उत्रिएका दीपेन्द्रसिंह ऐरी भने क्रिजमा टिक्न सकेनन्। उनी ३६औँ ओभरको दोस्रो बलमा आयन खानबाट बोल्ड भए। आउट हुनुपूर्व उनले १२ बलमा ७ रन मात्रै बनाउन सके।
क्रिजमा जमेर खेलिरहेका कुशल मल्ल ४१औँ ओभरको चौथो बलमा आयन खानबाट १०८ रनको व्यक्तिगत स्कोरमा क्याच भए। उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे। यता, सन्दीप लामिछाने १० बलमा १ चौका प्रहार गर्दै ८ रनमा क्याच आउट भए।
तर, सोमपाल कामी र करण केसीले ४४.४ ओभरमा ८–२४९ को स्थितिमा रहेको नेपालको लागि ६९ रनको साझेदारी गर्दै ३१० को बलियो स्थितिमा पुर्याए। सोमपाल ४८ बलमा ९ चौका प्रहार गर्दै ६३ रनमा अविजित रहे। उनको ओडीआईमा यो स्कोर उच्च हो। यता, करण केसी १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्धको खेलमा एक परिवर्तन गरेका थिए। मलेसियाविरुद्ध खेलेका तीव्र गतिका बलर गुलशन झाको स्थानमा उनले करण केसीलाई मौका दिएका थिए। अन्यलाई भने यथावत् राखेका थिए।
ओडीआईमा कुशलको पहिलो शतक
ओमानविरुद्धको खेलमा कुशल मल्लले शतक प्रहार गरे। उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाए। उनी नेपालको तर्फबाट ओडीआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी हुन्।
यसअघि रोहितकुमार पौडेलले सन् २०२२ मार्च २५ मा कीर्तिपुरमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा ९१ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए।
उनको यो ओडीआईमा पहिलो शतक हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल र ओमान दुवै राष्ट्र एकदिवसीय मान्यता प्राप्त देश भएको कारण यो खेललाई ओडीआई मान्यता दिएको छ। ओडीआईमा शतक प्रहार गर्ने उनी छैटौँ खेलाडी हुन्। यसअघि पूर्वकप्तान पारस खड्का, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेखले शतक प्रहार गरेका छन्।
उनले सन् २०२० फेब्रुअरी ८ मा कीर्तिपुरमै भएको अमेरिकाविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उक्त डेब्यू खेलमा उनले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
त्यसयता उनले नेपाली टोलीबाट २१ ओडीआई खेल खेलिसकेका छन्।
सोमपालको दोस्रो अर्धशतक
तल्लो क्रममा क्रिजमा उत्रिएका सोमपाल कामीले ओडीआईमा दोस्रो शतक प्रहार गरेका छन्। उनले सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध भएको ओडीआई खेलमा डेब्यू गरेका थिए।
उनले उक्त भ्रमणको दोस्रो खेलमा पहिलो अर्धशतक प्रहार गरेका थिए। त्यतिबेला उनले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६१ रनको अविजित इनिङ्स खेलेका थिए।
ओमानविरुद्ध भने उनले ३९ बलमा ७ चौका प्रहार गरे। ओमानका आयन खानले ५ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर २ विकेट लिए।
बिलाल खान, कलिमुल्लाह, जिशान मकशूद, फय्याज बट, जतिन्दर सिंह र अकिब इलियासले १/१ विकेट लिए।
समूह 'ए' मा आयोजक नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब रहेका छन्। यो समूहमा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। मलेसिया र ओमानको समान २/२ अंक रहेको छ। तर, नेटरननेटको आधारमा मलेसिया दोस्रो र १ खेल खेलेको ओमान तेस्रो स्थानमा रहेको छ।
यस समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
