तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल

राष्ट्रियतामाथि संकट बढिरहेकाले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको नेता खनालको भनाइ छ।

काठमाडौँ– एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

शनिबार जनकपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा नेता खनालले मिलेर जाने कुरा बेग्लै भए पनि पार्टी एकीकरणको सम्भावना नरहेको बताए।

एकीकृत समाजवादी अधिवेशन र महाधिवेशनको तयारीमा रहेकोसमेत उनले बताए। उपनिर्वाचनपछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहार भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए।

राष्ट्रियतामाथि संकट बढिरहेकाले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको नेता खनालको भनाइ थियो।