राजनीतिमा व्यक्तिवाद हाबी छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अरूलाई मान, सम्मान गर्ने नभई सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरेका छन्।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विकृतिको भारी रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा विकृतिको चाङ रहेको दाबी गरे। उनले कम्युनिस्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको बताए।

"सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ। अरूलाई मान, सम्मान, मर्यादा गर्ने होइन, अरू सबैलाई बडो अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त छ," उनले भने। 

अध्यक्ष नेपालले कसरी असल संस्कार भएका कम्युनिस्ट बन्ने भन्नेबारेमा बृहत् छलफल र बहस गर्न जरुरी रहेको बताए। उनले सच्चा कम्युनिस्टहरू एक ठाउँमा मिल्नुको विकल्प नरहेको जिकिर गरे।