समाजमा अराजक गतिविधि बढ्यो, बुद्धिजीवीले हस्तक्षेप गर्न आवश्यक देखियो: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी रह‍ेको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय कम्युनिस्ट आन्दोलनमा मात्र नभई देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरेका हुन्।

उनले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो कि भन्ने डर पलाएको बताए। उनले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई अजेन्डालाई भन्दा मान्छे भावनालाई प्रश्रय दिएको भन्दै चिन्ता व्यक्त गरे।

“गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई अजेन्डालाई भन्दा मान्छे सेन्टिमेन्टलाई भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ,” उनले भने, “यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीवीबाट अलि हस्तक्षेप बढ्न जरुरी छ। वैचारिक बहस चलाउन जरुरी छ।”

उनले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरू, त्यसका नेताहरूप्रति जति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताए। उनले लेख, रचनातिर भन्दा युट्युब, टिकटकमा लागेर मानिसहरू क्षणिक उत्तेजना, आवेग र अराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको बताए।

इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखा परेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको उनको भनाइ छ।