युक्रेनले खाद्यान्न निर्यातलाई निरन्तरता दिने, इथियोपियालाई पठायो ४० टन अन्न

गत फेब्रुअरीमा युद्ध शुरु गरेपछि रुसी जलसेनाले युक्रेनबाट निर्यात हुने सामग्रीमा प्रतिबन्ध लगाउँदै आएका थिए। रुसी प्रतिबन्धका कारण युक्रेनको २ करोड टन खाद्यान्न निर्यात हुन पाएको थिएन।

खाद्यान्न निर्यात सम्झौताबाट रुस पछि हटे पनि युक्रेनले निरन्तरता दिने बताएको छ। युक्रेनले खाद्यान्न ढुवानीका आफ्ना १२ वटा कार्गो जहाज ब्ल्याक सीको तटीय क्षेत्रबाट अघि बढेको युक्रेनका संरचनामन्त्री ओलेक्जन्डर कुब्राकोभले जनाएका छन्।

अन्न निर्यातका लागि प्रयोग गरिएका कार्गो जहाजमध्ये एउटा इथियोपिया पठाइँदै छ। उक्त कार्गो जहाजमा ४० हजार टन अन्न रहेको संरचनामन्त्री ओलेक्जान्डरले बताए। भोकमरीको चपेटामा परेको इथियोपियाका लागि अन्न निर्यात गरिएको उनको भनाइ छ।

ब्ल्याक सीको तटीय क्षेत्रस्थित रुसले अतिक्रमण गरेको युक्रेनी भूमि क्राइमियामा ड्रोन आक्रमण भएको भन्दै रुस खाद्यान्न निर्यातका लागि युक्रेनसँग गरेको सम्झौताबाट पछि हटेको थियो। खाद्यान्न निर्यात सम्झौताबाट पछि हट्ने रुसी निर्णयको अमेरिकाले भर्त्सना गरेको छ। मस्कोले खाद्यान्नलाई हतियार बनाएको आरोप अमेरिकाको छ।

यस्तै, युरोपेली युनियनका विदेश नीति प्रमख जोसिप बोर्रेलले रुसलाई सो निर्णय फिर्ता गर्न आग्रह गरेका छन्। अन्न, बिउबिजन, किटनाशक औषधिजस्ता वस्तु निर्यातमा अवरोध हुँदा विश्वमा खाद्यान्न संकट हुने भन्दै बोर्रेलले रुसलाई सम्झौतामा फर्कन आग्रह गरेका हुन्।

शनिबार भएको ड्रोन आक्रमणको लागि क्रेमलिनले किभलाई आरोप लगाउँदै आएको छ। साथै, रुसले सामुद्रिक क्षेत्रबाट युक्रेनी कार्गो जहाजहरू सुरक्षित साथ बाहिरिने कुराको ग्यारेन्टी नरहेको चेतावनीसमेत दिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै खाद्यान्न निर्यात गर्ने विषय जोखिमपूर्ण हुनेक चेतावनी दिएका हुन्।

गत फेब्रुअरीमा युद्ध शुरु गरेपछि रुसी जलसेनाले युक्रेनबाट निर्यात हुने सामग्रीमा प्रतिबन्ध लगाउँदै आएका थिए। रुसी प्रतिबन्धका कारण युक्रेनको २ करोड टन खाद्यान्न निर्यात हुन पाएको थिएन। जसमा मकैसहित विभिन्न खाद्यान्न र सूर्यमुखी तेल थियो।

तर, केही महिनाअघि रुस र युक्रेनबीच खाद्यान्न निर्यातसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्ततामा जुलाइ २२ मा भएको सम्झौतामा ब्ल्याक सीमार्फत युक्रेनले खाद्यान्न, बिउबिजन र रुसले बिउबिजनको निर्वाध निर्यात गर्ने विषय समावेश थियो।