सगरमाथा आरोहणका लागि ३१९ जनाले लिए अनुमति

सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ४४ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

काठमाडौँ– यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३१ टिमबाट ३१९ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार २६५ पुरुष र ५४ जना महिलाले अनुमति लिएर आरोहणका लागि आधार शिविर प्रस्थान गरेका हुन्। सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ४४ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

यस्तै सगरमाथा, मनासलु, धौलागिरि, मकालु, ल्होत्सेसहित २३ वटा हिमाल आरोहणका लागि ८५ टिमबाट ७४३ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ। त्यसमध्ये १५९ जना महिला छन्।

हिमाल आरोहण अनुमतिबाट सरकारले ५२ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। सगरमाथापछि ८ हजार ५१६ मिटरको ल्होत्से हिमाल आरोहणका लागि धेरै जनाले अनुमति लिएका छन्।

ल्होत्से चढ्न ८ टिमबाट ६१ जनाले अनुमति लिएको विभागले जनाएको छ।