चितवन–२ को मतगणना १ बजेदेखि शुरू गर्ने सहमति

कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउने सहमति भएको छ।

तस्वीर : रासस

काठमाडौँ– चितवन–२ मा भएको उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि शुरू हुने भएको छ।

बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति जुटेको हो। मतगणना उद्योग वाणिज्य संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ।

रास्वपा उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि मतगणना शुरू हुन सकेको थिएन। कांग्रेस र एमालेका उम्मेदवारले उक्त उजुरीको छानबिन गरेपछि मात्रै मतगणना गर्नुपर्ने अडान राखेका थिए। 

आइतबार साँझ बैठकमा प्रमुख जिल्ला अधिकारी नआएको भन्दै कांग्रेस, एमालेसहितका दलले आपत्ति जनाएपछि बिहान पुनःबैठक बसेको हो। ती दलले प्रमुख जिल्ला अधिकारीको संलग्नतामा आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै बैठकमा जवाफ दिनुपर्ने माग गरेका थिए।  

कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउनेलगायतका निर्णय भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।

यहाँ रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा छ। यहाँ ७८ हजार २७७ मत खसेकाे छ।