लुम्बिनी सरकार ढल्यो, विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त

तत्कालीन गठबन्धनमा रहेका माओवादी केन्द्रलगायत दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत लिएका थिए। बहुमतका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्नेमा गिरीले ३३ मत मात्र पाए।

बुटवल– नेकपा एमालेको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार ढलेको छ। सोमबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेर मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन्।

तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रलगायत दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको थियो।
मुख्यमन्त्री गिरीले ३३ मत मात्र पाए।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्छ। उनले एमाले र राप्रपाका प्रदेशसभा सदस्यको मात्र मत पाए। लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सदस्य छन्।

संघमा सत्तागठबन्धन फेरिएसँगै लुम्बिनीको सरकार पनि अप्ठेरोमा परेको थियो। नयाँ बनेको गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने सहमति भइसकेको छ।

यसअघि सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिम र गण्डकीमा एमालेकै नेतृत्वमा रहेका प्रदेश सरकार ढलिसकेका छन्।