एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि अनेकौँ महत्वाकांक्षी योजना अघि सारेको छ भने कतिपय ठाउँमा एमालेकै पालामा भएको कार्यक्रमको जस लिने प्रयाससमेत गरेको छ।
काठमाडौँ– ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक–सामाजिक रूपान्तरण र समृद्धि समाजवादको आधार’ नेकपा एकीकृत समाजवादीको चुनावी नारा हो यो।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। समाजवादीले आगामी निर्वाचनलाई ध्यानमा राखेर आठवटा नीतिगत प्रतिबद्धताहरू सार्वजनिक गरेको हो।
ती नीतिगत प्रतिबद्धताहरूमध्ये समाजवादीले निर्वाचन प्रणालीमा सुधारको विषयलाई प्राथमिकतामा राखेको छ।
“अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिल समेत छ। हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ,” घोषणापत्रमा भनिएको छ, “यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्।”
यस्तै एकीकृत समाजवादीले प्राप्त उपलब्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढीकरण र विकास, सुशासन र पारदर्शिता, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड, आर्थिक–सामाजिक रूपान्तरण : समाजवादका आधार निर्माण, राष्ट्रिय हित र स्वाभिमानको सम्वर्द्धन र योजना प्रणालीमा आमूल परिवर्तन गर्ने विषयलाई महत्त्व दिएको छ।
एमालेकै पालामा भएको कार्यक्रमको जस लिने प्रयास
नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेबाट विभाजन भएर गठन भएको पार्टी हो। पार्टीभित्रको आन्तरिक मतभेद चुलिएपछि गतवर्ष भदौ २ गते माधव नेपालको नेतृत्वमा एक तप्का एमाले छोडेर नयाँ पार्टी गठन गरेका थिए।
भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएर वैधानिकता पाएको एकीकृत समाजवादीले पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुँदैछ। गत वैशाख ३० मा सम्पन्न भएको स्थानीयतहको निर्वाचन पाँचदलीय गठबन्धनमा सहभागी भएरै निर्वाचन लडिसकेको छ।
आउँदो निर्वाचनमा पनि चारदलीय गठबन्धनको सहयोगमा चुनावमा होमिएको एकीकृत समाजवादी पार्टी प्रत्यक्षतर्फ १९ जना उम्मेदवारसहित चुनावी मैदानमा छ। घोषणापत्रमा एकीकृत समाजवादीले केपी शर्मा ओलीको कडा आलोचना गरेको छ भने तत्कालीन पार्टी महासचिव मनमोहन अधिकारीको प्रशंसा गरेको छ।
“केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरेका थियौँ। त्यस सरकारले जनअपेक्षाअनुरूप र चुनावका बेला जनता समक्ष प्रस्तुत प्रतिबद्धता अनुरूप काम नगरी भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएका कारण आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुन गयो,” घोषणापत्रमा भनिएको छ, “हामीले नेकपा (एमाले) मा व्याप्त दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली सुधार्नका लागि धेरै प्रयास गर्यौँ। एमाले नेतृत्वलाई सुधार्न र ठिक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्यौँ।”
समाजवादीले ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नौ महिने सरकारको सबैभन्दा लोकप्रिय र जन–जनका मन मस्तिष्कमा बस्न सफल कार्यक्रम ‘आफ्नो गाउँ, आफै बनाऔँ’ समेत घोषणापत्रमा उल्लेख गरेको छ।
प्रत्येक निर्वाचन क्षेत्रमा समान बजेट छुट्ट्याउने गरी ‘नौ स’ को कार्यक्रम अघि सारिएको उल्लेख गर्दै पुष्पलाल (मध्यपहाडी) लोक मार्गको शुरूआत, काठमाडौँ–निजगढ द्रुत मार्गको शुरूआत, स्थानीय तहमा महिला र उत्पीडित–दलित समुदायको प्रतिनिधित्वको शुरूआत, उपल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको शुरूआत, कलङ्की नौबिसे सुरुङ मार्गको कार्य प्रारम्भ, जनता आवास कार्यक्रम, विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा, अन्तर्जातीय विवाहलाई प्रोत्साहन, एकल महिलाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम, महिलामाथि हुने हिंसा नियन्त्रण गर्न प्रहरीमा महिला सेलको स्थापना, अपाङ्गता भएका व्यक्तिलगायतलाई सामाजिक सुरक्षा कार्यक्रम विगतमा आफूहरूले गरेका मुख्य काम भनेको छ। नवगठित पार्टी पहिलो पटक संघीय निर्वाचनमा सहभागी हुँदै गर्दा उसले घोषणापत्रमा राखेका कार्यक्रम भने निकै महत्वाकांक्षी र आश्वासन नै बढी देखिएको छ।
लोकप्रिय कार्यक्रम राखेर महत्वाकांक्षी योजना
आधुनिक कृषि, संरक्षित कृषि बजार र सम्पन्न किसान नारालाई अघि सारेको एकीकृत समाजवादीले रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानहरूलाई आकर्षित गराउने र बर्सेनि हुने मलको अभावलाई अन्त्य गर्नका लागि मल कारखाना स्थापना गर्ने भनेको छ।
कृषि उद्यमीहरूलाई कृषि बिमाको लागि आवश्यक रकम अनुदानमा दिने, रोजगारीका लागि बिदेसिएका युवाहरूलाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गरी ‘बिदेसिएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा वृद्धि गरौँ !’ अभियान नै सञ्चालन गर्ने भनेको छ।
‘नेपालको पानी नेपालमै’ भन्ने अवधारणालाई सार्थकता दिन नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाइ सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने पनि समाजवादीको घोषणापत्रमा उल्लेख छ।
‘एक पालिका, एक उद्योग ग्राम’ कार्यक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्ने गरी घरेलु, साना तथा ग्रामीण उद्योगहरू स्थापना गरेर हस्तकलाका वस्तुहरू, नेपाली पहिचान झल्काउने उपहारका सामानहरू, लत्ता–कपडा, फर्निचर, कागज, खेलौना, सामानखेर जाने काठपातलाई प्रयोग गरी ब्रकेट उत्पादन, मह, वनस्पति घ्यू तथा तेल, स्थानीय तथा जङ्गली फलफूलबाट जुस उत्पादन, जडीबुटी उत्पादन, संकलन र प्रशोधन गर्ने लगायतका उद्योगहरू सहकारी तथा निजी स्थापना गर्नका प्रोत्साहन गर्दै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने भनेको छ।
नागरिकहरूलाई कर तिर्ने बानी बसाल्न व्यापक व्यक्तिगत करदाताहरूलाई दाखिला गरेको करका आधारमा स्वास्थ्य उपचार बिमा र १२ महिना नै कर तिर्ने कर दातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने लगायतका प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न पहल गर्ने उल्लेख छ।
ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि नारा दिएर समाजवादीले ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने, त्यसका लागि स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गर्ने भनेको छ। संविधान प्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्न सबै तहमा कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न जोड दिने घोषणापत्रमा समेटेको छ।
प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर, आइसियु तथा भेन्टिलेटर सेन्टरहरूसहितका एक हजार, नगरपालिकाको केन्द्रमा कम्तीमा एकसय र गाउँपालिकाको केन्द्रमा कम्तीमा पच्चिस शय्याका अस्पताल स्थापना र सञ्चालन गर्ने पनि समाजवादीले भनेको छ। नि:शुल्क खानेपानी : सुखी जिन्दगानी भन्ने नारा अघि बढाएको समाजवादीले ‘एक घर एक धारा, स्वच्छ खानेपानी हाम्रो अभिभारा’ भन्ने नाराका साथ हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने, हरेक घरपरिवारलाई मासिक दशहजार लिटर पानी नि:शुल्क रूपमा उपलब्ध गराउने उल्लेख छ।
यस्ता छन् थप महत्वाकांक्षी नारा
समाजवादीले घोषणापत्रमा ‘एक घर, एक सिप र एक रोजगारी’, प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय सञ्चालन गरी उच्चस्तरका दक्ष प्राविधिक र व्यवस्थापक उत्पादन गर्ने, भूमाफियाहरूद्वारा कब्जा गरिएका जमिन फिर्ता लिने, स्वच्छ, सुन्दर र आधुनिक राजधानी, ‘हरित सहर, राम्रो सहर’, ‘मेरो सहर, म बनाउँछु’, गाउँ सहरमा सहकारी : घरघरमा रोजगारी, राष्ट्रिय श्रम आयोग गठन गर्न पहल गर्ने, महिलाको हित : हरघर सुरक्षित , ज्येष्ठ नागरिकको रखवारी : नयाँ पुस्ताको जिम्मेवारी, ‘अपाङ्गतामैत्री गाउँ/सहर, हाम्रो रहर’, ‘भ्रष्टाचारमुक्त सरकार : भ्रष्टाचाररहित समाज’, ‘प्रशासनिक/साधारण खर्च घटाऔँ, विकास खर्च बढाऔँ’, ‘पहिले आउने व्यक्तिको काम पहिले’ जस्ता नीतिलाई कार्यान्वयन गर्ने भनिएको छ।
त्यस्तै, प्रदेश सरकारलाई सुदृढ गर्दै संविधानप्रदत्त अधिकारको अभ्यास गर्न सक्षम, आधारभूत लोकतन्त्रको नमुना र संघीयताको मर्मअनुरूप विकास गरिने घोषणापत्रमा उल्लेख छ। भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गर्न पहल गरिने घोषणासमेत समाजवादीको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
