बलियो प्रतिद्वन्द्वी फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ मा मैत्रीपूर्ण खेल खेल्ने छ। यो खेल फिफा डेअन्तर्गत खेल्न लागिएको एन्फाका प्रवक्ता सुरेश शाह जानकारी दिए।

काठमाडौँ– साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले वरीयतामा आफूभन्दा ३८ स्थानमाथि रहेको फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहका अनुसार फिलिपिन्स आफैँले नेपाललाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव राखेको हो।

साफको अघिल्लो संस्करणमा नेपाल भारतसँग ३-० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो। २८ वर्षे साफको इतिहासमा नेपालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो उपलब्धि हो। यसपटक साफको उपाधि जित्ने लक्ष्य राखेको नेपालले त्यसको तयारीका लागि आफूभन्दा वरीयतामा माथि रहेको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने लक्ष्य राखेको छ। टोली खोज्दै जाँदा फिलिपिन्सले नेपालको आतिथ्य गर्न इच्छुक रहेको जनाएको शाहले उकालोलाई बताए।

"साफअघि मैत्रीपूर्ण खेल खेल्ने हाम्रो लक्ष्य रहेको छ। त्यसैअनुसार हामीले आफूभन्दा बलियो टोली खोजिरहेका छौँ। त्यही क्रममा फिलिपिन्सले नेपालाई स्वागत गर्न तयार रहेको बताएको छ," उनी भन्छन्,"यो खेल पिलिपिन्सकै मैदानमा आयोजना हुने हो। यसको तयारी गर्न बाँकी रहेको छ।"

नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ मा मैत्रीपूर्ण खेल खेल्ने छ। यो खेल फिफा डेअन्तर्गत खेल्ने लागिएको उनले जानकारी दिए।

नेपालले पछिल्लोपटक सन् २०१७ नोभेम्बर २४ मा फिलिपिन्ससँग खेलेको थियो। एएएफसी एसिया कपअन्तर्गत भएको दोस्रो खेलमा नेपाल र फिलिपिन्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो।

त्यसअघि सोही प्रतियोगिताअन्तर्गत पहिलो खेलमा भने फिलिपिन्सले नेपाललाई ४–१ गोलअन्तरले पराजित गरेको थियो। उक्त खेल मार्च २८ मा भएको थियो।

त्यसअघि नेपाल र फिलिपिन्स चार पटक आमनसामने भएका छन्। सन् १९८२ मार्च ३१ मा भएको किङ्स कपमा नेपालले फिलिपिन्सलाई १-० गोलअन्तरले पराजित गरेको थियो। बैंककमा भएको उक्त खेलको १३औँ मिनेटमा गणेश थापाले निर्णायक गोल गरेका थिए।

त्यसपछि नेपालले सन् २०११ अक्टोबर ११, सन् २०१४ अप्रिल ११ र सोही वर्षको अक्टोबर ३१ मा तीन मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल ४-०, ३-० र ३-० गोलअन्तरले पराजित भएको थियो।

हाल फिलिपिन्स फिफा वरीयतामा १३६ औँ स्थानमा रहेको छ। नेपाल भने १७४ औँ रहेको छ। साफ च्याम्पियनसिपको तयारी गरिरहेको नेपालले यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स् कप खेलेको थियो। भुटान र लाओससम्मेलित प्रतियोगिताको उपाधि नेपालले जितेको थियो। पहिलो खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको थियो।

दोस्रो खेलमा भने नेपालले भुटानसँग १-१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा भने नेपालले लाओसलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो। उक्त प्रतियोगिताको पहिलो र दोस्रो खेलले मात्रै फिफाबाट मान्यता पाएको थियो।

नेपालले आगामी जुन २१ देखि शुरू हुने साफ खेल्ने छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)का अनुसार प्रतियोगिता जुन २१ देखि जुलाई ३ सम्म भारतको बैंग्लुरूमा आयोजना हुने छ।

यसपटक साफमा बाहिरका मलेसिया र साउदी अरबलाई आमन्त्रितको रूपमा बोलाउने तयारी भएको छ। प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन आठ टोलीबीच प्रतिस्पर्धा गराउने र त्यसका लागि साफ बाहिरका टोलीलाई आमन्त्रण गर्ने महासंघले जनाएको छ। सन् १९९३ देखि शुरू भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औँ संस्करण हो। १३ संस्करणमध्ये भारतले आठ पटक उपाधि जितेको छ।

यता, फिलिपिन्सले यही मार्च २४ मा कुवेत र २८ मा जोर्डनसँग मैत्रीपूर्ण खेल खेलेको थियो। कुवेतसँग २-० ले पराजित भएको फिलिपिन्स जोर्डनसँग पनि ४-० गोलअन्तरले पराजित भएको थियो। उसले अब जुन १९ मा चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्ने छ। उक्त खेल फिलिपिन्सको मनिलामा हुने छ। त्यसपछि उसले फिफा विश्वकप २०२६ र एएएफसी एसिया कप छनोट खेल्ने छ।