गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज बिदा दिएको छ। गोरखा भूकम्पबाट ज्यान गुमाउनेको सम्झनामा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
गोरखा– गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको मंगलबार आठ वर्ष पूरा भएको छ।
२०७२ वैशाख १२ गते बिहान ११: ५६ मिनेटमा गएको ७.८ म्याग्निच्यूडको भूकम्पले देशभर आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए। भूकम्पमा परी गोरखा जिल्लाका मात्र ४७१ जनाको निधन भएको थियो।
भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन।
२०७४ मंसिर १४ गते ठेक्का सम्झौता गरी शुरू गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत सम्पन्न भएको संघीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिए।
सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी छ। “स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ,” उनले भने, “त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्नेलगायत काम पनि सम्पन्न भएको छ।” उनले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिए।
उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ। त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेना गृह, पार्किङ स्थलसमेत निर्माण गरिएको इन्जिनियर पंगेनीले जानकारी दिए। सरकारी स्वामित्वको झन्डै २१६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए।
उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने पंगेनीको भनाइ छ। “अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाको नाम लेख्न बाँकी छ,” उनले भने, ‘गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि नगराएकाले काम रोकिएको हो।” उद्यान निर्माणको जिम्मा स्वच्छन्दरहोम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो।
निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उनले बताए। पछिल्लोपटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ। उनले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा समयभित्र ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिए।
ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिकलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उनले बताए । उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।
“बारपाक यसै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा रूपमा लिइन्छ,” उनले भने, “झनै भूकम्प स्मृति उद्यान निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।” निर्माणमा ढिलाइ हुँदा शुरूमा १३ करोड छ लाख ३४ हजारमा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत १५ करोड ५१ लाख ७५ हजार रुपैयाँ पुगेको उनले जानकारी दिए ।
बारपाक सुलीकोटमा सार्वजनिक बिदा
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ। गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेको सम्झनामा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।
बिदाका दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक संघसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
