जनताको भरोसालाई डगमगाउन दिने छैन : स्वर्णिम वाग्ले

चुनावी प्रचारका क्रममा गरिएका वाचालाई लिपिबद्ध गरेर स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधि तथा आमजनतासँगको अर्न्तक्रियामार्फत योजना अघि बढाउने वाग्लेको भनाइ छ। 

तस्वीर : रासस

काठमाडौँ– तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले जनताले गरेको भरोसालाई डगमगाउन नदिने बताएका छन्।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको प्रमाणपत्र लिएपछि वाग्लेले आफूले खेल्नुपर्ने भूमिकाप्रति सजग रहने बताएका हुन्।

“यहाँहरूले मप्रति प्रकट गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईँहरूको भरोसालाई म डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु।”

आफूले पाएको मत तनहुँ–१ सहित समग्र मुलुककै मुहार फेर्नका लागि भएको उनको भनाइ छ। यस्तै वाग्लेले चुनावी प्रचारका क्रममा गरिएका वाचालाई लिपिबद्ध गरेर स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधि तथा आमजनतासँगको नियमित सम्पर्क र अर्न्तक्रियामार्फत योजनाहरू अघि बढाउने वाग्लेले बताएका छन्।

“अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदातामा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वाभाविक रूपमा लिएर हातेमालो गर्दै अघि बढ्ने र मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा छ,” उनले भनेका छन्।

निर्वाचनका दौरान भएका गतिविधिलाई सामान्य रूपमा लिनसमेत वाग्लेको अनुरोध छ।