मंसिर २२ सम्म निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने आयोगको तयारी

आयोगले मंसिर ७ गतेसम्म प्रत्यक्षतर्फको मतगणना सक्ने र ८ गतेदेखि समानुपातिक तर्फको मतगणना गर्ने तयारी गरेको छ। त्यस्तै, मंसिर २२ गतेसम्म मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारी आयोगको छ।

काठमाडौँ- आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को सबै परिणाम मंसिर २२ गतेसम्म राष्ट्रपति समक्ष बुझाउने निर्वाचन आयोगले तयारी गरेको छ ।

निर्वाचनको तयारीमा रहेको आयोगले सम्पन्न भएलगत्तै मतगणना गरी परिणाम बुझाउने समयसमेत निर्धारण गर्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

“४ गते सबैतिर सफलतापूर्वक निर्वाचन सम्पन्न हुन्छ भन्ने हाम्रो आकलन छ। पुनः मतदान गर्नुपर्‍यो भने एकदुई दिन पर सर्नसक्छ तर त्यो हामी कल्पनासमेत गर्दैनौँ,” उनले उकालोसँगको कुराकानीमा भने, “हामी प्रत्यक्षतर्फको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सबै नतिजा मंसिर ७ गते साँझसम्म प्रकाशित गरिसक्छौँ।”

उनका अनुसार आयोगले मंसिर ८ गते देखि समानुपातिक तर्फको मतगणना शुरू गर्नेछ । “त्यो दुई छुट्टाछुट्टै हुन्छ। चारवटा मतपत्र चार ठाउँमा फरकफरक हिसाबले गणना गर्नुपर्छ। त्यो गणना कम्तीमा ७ देखि ८ दिन भित्रमा सक्छौँ,” उनले भने, “त्यो भनेको मंसिर १५ वा १६ गते मतगणना सक्छौँ। त्यसबाट २ दिनजति हिसाबकिताब गर्न समय लाग्छ। त्यसपछि राजनीतिक दललाई अनुरोध गरेर पठाउँछौँ। अब तपाईंका बन्दसूचीका मानिसहरू कोको हुन् भनेर छिटो भन्दा छिटो आयोगमै आएर निर्णय गरेर दिनका लागि माग्छौँ।”

आयोगले मंसिर २२ गते बेलुकासम्मका राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ। उनले मंसिर २२ लाई लक्ष्य राखिएको भए पनि त्यसमा एकदुई दिन छिटो पनि हुनसक्ने, एक दुई दिन ढिलो पनि हुनसक्ने बताए।