एसीसी प्रिमियर कप : कुवेतको सेमिफाइनल पुग्ने सम्भावना कायमै

सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै ११८ रन बनायो। कुवेतका ओपनर अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए।

काठमाडौँ– एसीसी प्रिमियर कपको तेस्रो खेलमा सिंगापुरलाई पराजित गर्दै कुवेतले सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ। मंगलबार सम्पन्न खेलमा कुवेतले प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै ११८ रन बनायो। कुवेतका ओपनर अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए। उनले २८ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, मिट भावसारले ५० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए। यता, यसिन पटेल २५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रनमा अविजित रहे।सिंगापुरका विनोथ बास्करन र अक्षय पुरीले २/२ विकेट लिए। यता, थिलिपन मदुराई र अद्वित्य भार्गवको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सिंगापुरले ३१.४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो।

सिंगापुरका ओपनर अमर्त्य कउलले सर्वाधिक ४५ रन बनाए। उनले ६० बलमा ९ चौका प्रहार गरे। मनप्रीत सिंहले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यता, थिलिपन मदुराईले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

कुवेतका मोहम्मद असलमले सर्वाधिक ५ विकेट लिए। ८.४ ओभर बलिङ गरेका उनले २ मेडनसहित २० रन खर्चिए।

यता, शिराज खानले ३ विकेट लिँदा यसिन पटेल र अदनान इद्रिसको नाममा १/१ विकेट रह्यो।  जितसँगै कुवेतले ३ खेलबाट ४ अंक बनाएको छ।

समान खेल खेलेको हङकङको ५ र यूएईको ४ अंक रहेको छ। समूह 'बी'मा हङकङ शीर्ष स्थानमा रहेको छ। यूएई कुवेतसँगको नेटरननेटको आधारमा दोस्रो स्थानमा रहेको छ।

यूएईको नेटरननेट २.१८१ रहेको छ। कुवेतको ०.०७२ रहेको छ। कुवेतले अन्तिम खेल अब हङकङसँग खेल्ने छ। यूएईले भने ३ अंकको साथ चौथो स्थानमा रहेको बहराइनसँग खेल्ने छ।