सांसदहरूले उपनिर्वाचनको मतपरिणामले ठूला र पुराना दलहरू रूपान्तरण हुनुपर्छ भन्ने आवाज सशक्त बनेको बताएका छन्।
काठमाडौँ– सांसदहरूले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना दलहरूलाई चुनौती खडा गरेको बताउँदै आफ्ना कमकमजोरी नसच्याए जनताले विश्वास नगर्ने टिप्पणी गरेका छन्।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले ठूला दलहरू रूपान्तरण हुनुपर्छ भन्ने आवाज सशक्त बनेको बताएका हुन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरूले आफ्ना कमीकमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताए। उनले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरूले आफूलाई सुधार्नुपर्ने बताए। “जनताले यथास्थितिमा कसैलाई पनि विश्वास गर्दैनन्। सबैको परीक्षाको घडी शुरू भएको छ। सबैले परीक्षामा पटक–पटक उत्तीर्ण हुनुपर्छ। त्यसमा सबैको ध्यान जाओस्,” उनले भने।
त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मतपरिणामले ठूला दलहरू रूपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनेको बताउँछन्। उनले निर्वाचनको परिणामलाई कुनै चमत्कारका रूपमा नलिई स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्ने बताए। “निर्वाचन एउटा सहज प्रक्रियामा जनताले उहाँहरूलाई छाने। जनताले छान्ने अधिकार हो,” उनले भने।
त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले एमालेले सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता र सामाजिक सुरक्षाको क्षेत्रमा खेलेको भूमिकालाई स्पष्ट रूपमा जनतासमक्ष पुर्याउन चुकेको धारणा राखे। एमालेले गरेका कामहरू जनतासम्म पुर्याउन नसकेका कारण उपनिर्वाचनमा पराजित हुनुपरेको उनको भनाइ छ।
“एमालेले स्पष्ट ढंगले आमजनतालाई आफ्ना विषयहरू राख्न सकेको भए राम्रो मत ल्याउन सक्थ्यो। हामी त्यहाँनिर चुक्यौँ। त्यही कारणले यो नतिजा आएको हो,” उनले भने।
त्यस्तै, सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ठूला दलहरूले युवाको भावनालाई किन बुझ्न सकेनन् भन्ने विषयमा छलफल हुन आवश्यक रहेको बताए। उनले आगामी दिनमा जनताले आफूहरूको अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा बृहत् छलफल गरेर अगाडि बढ्नुपर्ने जिकिर गरे। “हामीले हाम्रो दिमागलाई पनि अपडेट गर्नुपर्नेछ। पार्टीलाई अपडेट गर्नुपर्नेछ। त्यो गर्छौं,” उनले भने।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताउँछन्। नेपाली जनता परिवर्तन र देशको समान विकासको पक्षमा रहेको देखिएको उनको भनाइ छ। “नेपाली जनताहरू युवाको पक्षमा छन्। जनताहरू देशको समान विकासमा विश्वास गर्छन् भन्ने कुरा लाग्छ मलाई,” उनले भने।
त्यस्तै, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपनिर्वाचनको मतपरिणामले ठूला र पुराना पार्टीहरूलाई चुनौती खडा गरेको तर्क गर्छन्। ठूला पार्टीहरूले आफ्नो जीवनशैली र कार्यशैलीबारे गम्भीरतापूर्वक नसोचे थप चुनौती खडा हुने उनको भनाइ छ। “मूलधारका ठूला पार्टीहरूले आफूलाई गम्भीरतापूर्वक जीवनशैली, कार्यशैली र अरू समग्र कुराहरूको बारेमा सोचिएन भने एउटा चुनौती खडा भएकै देखिन्छ,” उनले भने।
सांसद सापकोटाले निर्वाचनमा गठबन्धन हुँदा बढी जोखिम हुने र अनौठो परिणाम आउने खतरा बढ्ने तर्क गरे। उनले वर्तमान सरकारको निरन्तरताको विकल्प नरहेको भन्दै रास्वपाले स्थिरता र स्थायित्वको बारेमा सोच्नेमा विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
