फास्ट ट्र्याकको जग्गा प्राप्ति विवाद छिटो टुंग्याउने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले काठमाडौँ—तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले काठमाडौँ—तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। 

"काठमाडौँ—तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा केही दिनअघि हामीले उच्चस्तरीय समिति निर्माण गरेका थियौँ। त्यो समितिले काम अघि बढाएको छ। छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ," उनले भने।

उनका अनुसार बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने पनि भएको छ। त्यस्तै, जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरिएको उनको भनाइ छ।