अन्तिम खेलमा मलेसियाको जित, ओमान र साउदीलाई बाहिरिने डर

कतारले दिएको २१६ रनको लक्ष्य मलेसियाले ३४.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। मलेसियाका सैयाद अजिजले सर्वाधिक ८० रन बनाए। उनले ६६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

काठमाडौँ– मलेसियाले अन्तिम खेलमा एसीसी प्रिमियर कपबाट बाहिरिइसकेको कतारलाई पराजित गर्दै गरेको छ। मंगलबार सम्पन्न खेलमा मलेसियाले कतारलाई ३ विकेटले पराजित गरेको हो।

कतारले दिएको २१६ रनको लक्ष्य मलेसियाले ३४.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। मलेसियाका सैयाद अजिजले सर्वाधिक ८० रन बनाए। उनले ६६ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै, कप्तान अहमद फैजले ३३, खिजार हयातले २५, मोहम्मद शाहदतले २२, विजयी उन्नीले २० र फित्री सामले १२ रन बनाए।

कतारका मोहम्मद नादिम र इक्रामुल्लाह खानले २/२ विकेट लिए। मोहम्मद तनवीर र जाहिर इब्राहिमको नाममा १/१ विकेट रह्यो।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २१५ रन बनाएको थियो।

कतारका इमल लियानागेले सर्वाधिक ५६ रनको इनिङ्स खेले। उनले ६८ बलमा ७ चौका प्रहार गरे।

त्यस्तै, खुर्रम शाहजादले ४५ बलमा ५ चौका र १ छक्कासहित ४१ रन बनाए। इक्रामुल्लाह खानले ३९, मोहम्मद तनवीरले २६, जाहिर इब्राहिमले १३ र कामरान खानले १२ रन बनाए।

मलेसियाका रिजवन हैदर र मोहम्मद वाफिकले २/२ विकेट लिए। खाजिर हयात, वीरन्दीप सिंह र विजय उन्नीको नाममा १/१ विकेट रह्यो।

जितसँगै मलेसियाले ४ खेलबाट ४ अंक जोडेको छ। मलेसिया समूह ए को अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। एक खेल कम खेलेको आयोजक नेपाल भने ५ अंक बटुल्दै सेमिफाइनलमा पुगिसकेको छ।

यता, तेस्रो स्थानमा रहेको ओमानको ३ खेलबाट ४ अंक रहेको छ। ओमानले अन्तिम खेल साउदीसँग खेल्ने छ। साउदीसँग ओमान पराजित भए मलेसिया प्रतियोगिताबाट बाहिरिने छ। यता, ओमान पनि प्रतियोगिताबाट बाहिरिने छ।

ओमानले साउदीलाई पराजित गरे मलेसिया तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिने छ। ओमान र साउदीको अन्तिम खेलमा पानी परेर खेल रद्द भए मलेसियाको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहन सक्छ।