उपनिर्वाचन परिणाम : धेरै हतारोमा छन् नेपाली

केही दिन पहिले स्वर्णिम वाग्लेका लेख संकलित किताब आधाजसो पढेँ। उनको किताब पढेर निराशाबाहेक केही हात लागेन।

धेरै लामो समय बन्द समाजमा बसेका मान्छे हौँ हामी नेपाली। दक्षिणतिर अंग्रेजको शासन र उत्तरतिर हिमालले छेकेको थियो। त्यसो हुँदा चीनसँग गहिरो सम्बन्ध र व्यवहार हुन पाएन।  विकाश निर्माणको पछौटेपनले पनि हामीलाई बन्धक बनाइ राख्यो। कोदारी मार्ग नखुल्दासम्म नेपालीले जुत्तासमेत लगाउन सक्ने अवस्था थिएन। जाडोमा एउटा ज्याकेट लगाउन सक्ने अवस्थासमेत थिएन। दुई दशक पनि भएको छैन नेपालीले सस्तोमा ज्याकेट किनेर लगाउन पाएको।

त्यस्तो अवस्थामा हामीले बाहिरी संसार देख्न पाउँदैनथ्यौँ, बाहिरको कुरा जान्दैनथ्यौँ। विदेशमा जाने नेपाली लाहुरेहरूले भनेका कथाहरूबाट हामी बाहिरी संसारबारे कल्पना गर्नुपर्ने विवशतामा थियौँ। सानो खोर/क्याम्पमा बसेर नेपाल फर्केका लाहुरेहरूले संसारै बुझेका हुन् जस्तो लाग्थ्यो हामीलाई। जबकि, तिनले विदेशी समाजलाई बुझ्नै पाएका हुँदैनथे। तिनका कुरा बडो चाख मानेर सुन्थ्यौँ हामी केटाकेटी हुँदा। 

त्यसरी हुर्किएको समाज हो यो। हामीलाई अस्तिसम्म अन्यत्रको संसार कस्तो थियो भन्ने कुरा आमरूपमा थाहा थिएन। यातायातको विकास तथा १०/१५ वर्षयता तीव्र रूपमा विकास भएको सञ्चारमाध्यमले धेरै नेपालीहरू बाहिरी देश जान थाले। 

यहाँनिर उल्लेखनीय के छ भने, खानै नपुगेर या व्यवहार धान्नै नसकेर सबै नेपाली विदेश जान थालेका भने होइनन्। अरूले गरेको सुखसुविधाको उपभोग देखेर र लोभिएर विदेश जाने ट्रेन्ड अहिले बढेको देखिन्छ। 

खाडी र मलेसियामा कम तलबमा जागिर खान जानेका बाध्यता होलान्, तर अन्यको हकमा चाहिँ सुख र समृद्धिको प्रतिस्पर्धा नै विदेश जानुको कारण हो। युरोप र अमेरिकामा लाखौँ खर्च गरेर जानेहरूले त्यति नै रकम यहाँ लगानी गर्दा यहाँ पनि आर्थिक उपार्जन पक्कै हुन्थ्यो होला नि। त्यसले हामी नेपालीहरू असाध्यै हतारिएको मनस्थितिमा छौँ भन्ने देखिन्छ। हामीमा अधैर्यता देखिन्छ। विदेशीले गरेको प्रगति र समृद्धि देखेर हामी यति हतारिएका छौँ कि हामीलाई आजको भोलि नै धेरै थोक तात्तातै चाहिएको छ। उप निर्वाचनको परिणामले पनि त्यसतर्फ संकेत गरेको छ। 

हिजोको दिनमा सत्तामा पुगेको माओवादीलाई फ्याँक्ने गल्ती पुराना दलहरूले गरे। त्यसैको परिणाम मूलधारका भनिएका दलले अहिले भोग्दै छन्। माओवादीलाई संविधान बनाउन दिएको भए अहिलेको भन्दा राम्रो संविधान बन्थ्यो। त्यसो हुँदा सबै कुरा प्राप्त हुन्थ्यो भन्ने भन्ने त होइन, तर आजको भन्दा राम्रो संविधान पक्कै बन्थ्यो। पहिचान तथा अन्य जनाधिकार कुरामा माओवादी दृढ भएर लाग्ने सम्भावना थियो उतिखेर। 

त्यतिखेर माओवादीलाई फ्याँक्न जनताले हतारो गरे। त्यसपछि फर्केर उतिखेर पुरानै 'टेस्टेड' कांग्रेस र एमालेलाई नेपाली जनताले फेरि सत्तामा ल्याए। त्यसले पनि नेपाली जनता साह्रै हतारोमा रहेको बुझिन्थ्यो। जनताको त्यही हतारोमा अहिले रविको पार्टी आएको छ। उनको पार्टीको पनि भोलि माओवादीकै हालत हुन्छ भन्ने लाग्छ। यद्यपि, यो अनुमानको कुरा हो।

चुनावको चार दिनअघि एक सार्वजनिक व्यक्तिले 'नेपालको अर्थतन्त्रले छलाङ मार्न चार दिन बाँकी' भनेर सामाजिक सञ्जालमा उल्लेख गरे। स्वर्णिम वाग्लेले चुनाव जिते आर्थिक रूपमा देशको कायापलट हुन्छ सोच आफैँमा समस्याग्रस्त सोच हो। एउटा व्यक्तिबाट त्यति ठूलो महत्त्वाकांक्षा राखेपछि भोलि के हुन्छ?

स्वर्णिम अर्थमन्त्री भएर अर्थतन्त्रले छलाङ मार्ने होइन। त्यसमाथि उनी अर्थमन्त्री हुने सम्भावना पनि छैन। सरकारमै जाने सम्भावना पनि छैन। सरकारमा रास्वपा गए पनि वाग्लेले अर्थमन्त्री पाउँदैनन्। उनीसँग जादुको छडी छ र उनले जे पनि गर्न सक्छन् भन्ने सोचले भोलि झनै डरलाग्दो निराशा जन्माउँछ। 

उसो त, हिजोका दिनमा पनि वाग्ले नीति योजना बनाउने ठाउँ वरपर थिए। अर्थमन्त्री हुनेले  योजनाका लागि पैसो निकासा गर्ने हो। योजना बनाउने काममा त वाग्लेहरू संलग्न थिए/ हुन्। त्यसो हुँदा त, आजको असफल अर्थनीतिका हिस्सेदार वाग्ले पनि हुन्। तर चमत्कारमा विश्वास गर्नेहरू यस्ता मिहिन तथ्यमा जान चाहँदैनन्। 

यस्तै अति महत्त्वाकांक्षी मानसिकताले रविहरूलाई छिटै नै पछार्ने सम्भावना देखिन्छ। धेरै लामो समयको अन्तरालमा निराशा आउनु त स्वाभाविक हो, तर नेपाली जनताको हतारो हेर्दा त्यसले नयाँहरूलाई पनि तत्कालै पछार्ने देखिन्छ। 

तानाशाहहरू टिक्ने अलग कुरा, नेपालको तुलनामा अन्य देशमा त यति लामो समयसम्म राजनीतिक नेताहरूसमेत टिक्दैनन्। मलेसियामा र सिंगापुरमा लामो समय टिकेका नेताहरू कुनै न कुनै रूपमा तानाशाही थिए। त्यही भएर टिकेका हुन्। 

भारतमा कांग्रेस आई असाध्यै लामो समयसम्म टिक्यो। यद्यपि, त्यो कत्तिको लोकतन्त्र थियो भन्नेबारे प्रशस्त प्रश्न गर्न सकिन्छ। जस्तो कि: बीपी सिंह भारतमा प्रधानमन्त्री हुँदाताक उनकै क्षेत्रको मतदाताको अन्तर्वार्ता बीबीसीले सुनाएको थियो। कसलाई भोट दिनुभयो मत भन्ने प्रश्नमा मतदाता भन्दै थिए, 'अहिलेसम्म त हामीले भोट नै हालेका छैनौँ। कसैले हालिदिए होला हाम्रो भोट।' भारतले लोकतान्त्रिक अभ्यास गरेको लगभग चालिस वर्ष नाघिसकेपछिको चित्र त्यस्तो थियो। त्यसो हुँदाहुँदै पनि त्यहाँ निरन्तर चुनाव भएको थियो र छ।  

नेपालमा पनि निरन्तर चुनाव भएका छन् र पार्टीहरू टिकेकै छन्। माओवादी धरमराउँदै धरमराउँदै पनि निरन्तर सत्तामा छ। तर अब के हुन्छ भन्ने प्रश्न प्रबल भएको छ। किनभने हिजोसम्म बाहिरको संसारको यात्रा र खबर यो स्तरमा नेपाल आउने गरेको थिएन। 

परिवर्तन स्वाट्टै बोकेर ल्याउनुपर्छ भन्ने खालको हुटहुटीले हामी नेपाली साह्रै चटारोमा छौँ। सामान किनेर ल्याएझैँ 'तयारी समृद्धि' ल्याउन मिल्ला कि भन्ने चिन्तनमा छौँ। जनतामा मात्र होइन, 'परम्परागत' पार्टीमा पनि त्यो चिन्तन छ। नभए नेताहरूले देशलाई सिंगापुर र स्विजरल्यान्ड बनाउने कुरा गर्ने थिएनन्। ती देशको विकाशको लामो यात्रा बुझेको भए यस्ता हचुवा कुरा गर्ने नै थिएनन् उनीहरूले।

म २०४८ सालमा सांसद भएको थिएँ एमालेका तर्फबाट। त्यतिखेर एमाले र कांग्रेसको नेतृत्वबारे परिचित भएँ। तल रहँदासम्म त आफ्ना नेतासँग देशको मुहार बदल्ने विशिष्ट र महान् योजना होलान् भन्ने लाग्थ्यो, तर केन्द्रमा पुगेपछि त तिनको नाडी छामियो। मुलुक बनाउने योजना कसैसँग पनि रहेनछ भन्ने बोध भयो।

मैले केही दिन पहिले स्वर्णिम वाग्लेका लेख संकलित किताब आधा पढेँ। बाबुराम भट्टराईले समेत पत्याएका अर्थशास्त्री हुन् वाग्ले। उनको किताब पढेर मलाई निराशाबाहेक केही हात लागेन। मैले किताब आधाआधी पढेर सक्याएँ, अनि थन्क्याएँ। रवीन्द्र अधिकारीको 'समृद्धि' नामको किताब पढ्दा पनि मलाई त्यस्तै भएथ्यो। के–के न होला भनेर पढेको थिएँ, पछि 'युवा नेताको हालत यस्तो छ। देश बुझ्दैनन्, यिनले देश कसरी चलाउलान्?' भनेर उतिखेर निराश भएको थिएँ।

वाग्लेको किताब आधा सकाउँदा पनि मलाई यिनले पनि नेपालका समस्या पटक्कै बुझ्दैनन् र यहाँको साधन स्रोतबारे जानकारी राख्दैनन्। 'फलानो देशमा यस्तो छ, अर्थतन्त्रको सिद्धान्तले यसो भन्छ, व्यवहारले यसो भन्छ' त भन्छन् तर नेपालबारे उनमा राम्रो जानकारी छैन।

अहिले उदाउँदै गरेका नेताहरूसँग पनि कुनै योजना छैन। त्यसो हुँदा हामी नेपालीले अझै धेरै दुःख पाउनु छ।

नेपाली समाज परम्परागत समाज हो। चमत्कार र भगवान‍्मा विश्वास गर्छ। त्यही भएर ओलीजस्ता नेतासमेत रामको मन्दिर बनाएर लोकप्रियता बटुल्न खोज्छन्। हाम्रो समाजले खास कुनै व्यक्तिमा विशिष्ट क्षमता हुन्छ भन्ने विश्वास गर्छ। त्यस कारण मान्छेहरू 'त्यसले गर्छ कि, अर्कोले गर्छ कि' भन्दै बारम्बार व्यक्ति छानिरहन्छन्। कुनै मसिहा र उद्धारक आएर हाम्रो उद्धार गर्छ भन्ठान्छन्। 

अर्को कुरा, हाम्रो समाज युरोप, अमेरिका र चीनबाट त्यति प्रभावित छैन, जति भारतबाट छ। भारतमा सन् २०१९ को आमचुनाव हुँदा जनतामा व्यापक असन्तुष्टि थियो। त्यहाँका मिडिया र बुद्धिजीवीहरू भाजपाले चुनाव नजित्ने विश्लेषण गर्दै थिए। तर आखिर चुनाव उसैले जित्यो। 

मतदाताहरूले के भनेको सुनियो भने, 'भाजपाले केही गर्न सकेन, ऊसँग योजना पनि छैन तर मोदीको टक्करको नेता कुनै पनि पार्टीमा देखिँदैन। मोदीको विकल्प खै?' मोदीको 'व्यक्तित्व' र 'नेतागिरी'कै कारण धेरै भारतीयको मत भाजपाको पक्षमा गयो।

भारतीयहरूझैँ कुनै व्यक्ति र व्यक्तित्वबाट हामी पनि छिटै प्रभावित हुन्छौँ। कुनै बेला यो समाज मदन भण्डारी, प्रचण्ड, बाबुराम भट्टराईका नाममा उर्लिएको थियो। यहाँ एकाध वर्ष अघिसम्म केपी ओलीको जयजयकार हुँदै थियो। अहिले ओली अस्ताउन थाले। ओली अस्ताउँदै गर्दा रवि उदाउन थाले।

तर, विगतका अन्य नेताका तुलनामा रविको हैसियत कुनै पनि क्षेत्रमा छैन। उनमा कुनै ठोस दृष्टिकोण, विचार, कार्यक्रम र योजना छैन। कामका प्राथमिकताका क्षेत्र केही खुटाएकै छैन। उनले मुलुक त बुझेकै छैनन्। स्वर्णिमले शास्त्र बुझेका छन्, जनता बुझेका छैनन्। रविले त न जनता बुझ्छन्, न देश बुझ्छन् न शास्त्र बुझ्छन्।

हामी सपनाका पछाडि दगुर्न अभिसप्त छौँ, तर हाम्रा कामना, कल्पना र योजनाहरूको सम्पादन गर्न सक्ने नेताहरू पटक्कै छैनन्।