गठबन्धनले देशलाई गलत दिशातर्फ लगिरहेको छ : ईश्वर पोखरेल

मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनका कारण मुलुक धराशायी बन्दै गएको बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनले देशलाई गलत दिशातर्फ लगिरहेको आरोप लगाएका छन्।

मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले गठबन्धनका कारण मुलुक धराशायी बन्दै गएको बताए।

“राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेका छन्, एउटाले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र विकासको नेतृत्व गर्छ, त्यो एमाले हो,” उनले भने, “अर्को भनेको सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतान्त्रिक मूल्य मान्यताविपरित गठबन्धन खडा गरिएको छ। जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने र गलत दिशातर्फ लैजाने काम गरिरहेको छ।”

मनमोहन अधिकारीका विचारलाई अघि बढाउन बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने उनको भनाइ छ।