सांसदको संख्या घटाउन खिमलाल देवकोटाको माग

देवकोटाले प्रतिनिधिसभामा सदस्य संख्या १६५ र प्रदेशसभाको संख्या ३३० मात्रै कायम गर्न सुझाव दिएका छन्। 

काठमाडौँ– राष्ट्रियसभाको बुधबारको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या परिमार्जन गर्न माग गरिएको छ।

बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए।

“प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सासंद वा मन्त्री तीनपटक र पार्टी/दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ,” उनले भने, “समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ।”

प्रतिनिधिसभामा सदस्य संख्या २७५ बाट घटाएर १६५ र प्रदेशसभाको संख्या ५५० बाट घटाएर ३३० मात्रै कायम गर्न सुझाव दिए। विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रियासमेत नियमसंगत नरहेको उनको भनाइ छ।

“अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानमा पार्टी सदस्य भर्ना गर्ने काम बन्द गरौँ,” उनले भने।

नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले  संयन्त्र बनाउनुपर्ने उनको भनाइ छ।