विद्यालयमा राजनीतिक दलका कार्यक्रम गर्न दिने प्राध्यापकलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी आएको जनाउँदै काठमाडौँ महानगरले त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने जनाएको छ।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ।
 
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ। यस्ता कार्यक्रम गर्न दिने विद्यालयबारे अनुसन्धान हुने महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए।

प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी महानगरको शिक्षा विभागमा आएको कोइरालाले बताएका छन्। उनका अनुसार उजुरीको आधारमा सम्बद्ध विद्यालयमा अनुगमन गर्ने र त्यस्ता कार्यक्रम गरेको पाइए सम्बन्धित विद्यालयका प्राधानाध्यापकलाई विभागीय कारबाहीसमेत गर्ने तयारी छ।

अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न पनि महानगरले सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।

यसै शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम गर्न लागिएको कोइरालाले जानकारी दिए। सो बमोजिम अब विद्यार्थीले प्रत्येक शुक्रबार किताब नबोकी नियमित समयममै विद्यालय जानु पर्नेछ। उक्त दिन अन्य क्रियाकलाप वा व्यवहारिक ज्ञानका क्रियाकलाप गराइने महानगरको तयारी छ। प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम अनिवार्य लागू गर्नु पर्नेछ।