काठमाडौँ महानगरको निर्णय सच्याउन माग गर्दै शिक्षा विभागको कार्यकक्षमा तालाबन्दी

विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने प्राध्यापकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय सच्याउन माग गर्दै शिक्षा विभागको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको शिक्षा विभागअन्तर्गतको संस्थागत विद्यालय शाखामा तालाबन्दी भएको छ।

नेत्र विक्रमचन्द्र नेतृत्वको नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले अनिश्चितकाल तालाबन्दी गरेको हो। आफूहरूका माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहेन अनेरास्ववियु क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी महानगरपालिकाले गरेको छ।

“विद्यालय क्षेत्रमा कुनै पनि प्रकारको राजनीतिक तथा भ्रातृ संगठनको कार्यक्रम गर्न नहुने मान्यता महानगरको रहेको छ, सोहीअनुरूप पालिकाले उक्त निर्णय लिएको हो,” प्रमुख सीताराम कोइरालाले भने।

हाल सोही निर्णयको विरोधमा केही राजनीतिक दलका भ्रातृ संगठनले शिक्षा विभागअन्तर्गतको एउटा कार्यकक्षमा तालाबन्दी लगाइएको उनले उकालोलाई बताए।

उक्त कार्यकक्षमा संस्थागत विद्यालयलगायतका शिक्षा क्षेत्रको विभिन्न काम हुने गरेको छ। तालाबन्दीसँगै उक्त कार्यकक्षबाट हुने कामकारबाही प्रभावित भएको प्रमुख कोइरालाले बताए।