विद्यार्थी संगठनले लगाएको ताला काठमाडौँ महानगरले फोड्यो, बालेन भन्छन्– विद्यालयमा राजनीति गर्नु अपराध

महानगरले विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शिक्षा विभागअन्तर्गतको विद्यालय शाखामा लागेको ताला फोडेको छ।

नेत्र विक्रमचन्द्र नेतृत्वको नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले लगाएको ताला महानगर प्रहरीले ताला फोडेको हो।

महानगरको ‘विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु’ भन्ने निर्देशनको विरोधमा क्रान्तिकारीले बिहीबार दिउँसो तालाबन्दी गरेको थियो। यसैबीच महानगरका मेयर बालेन शाहले शिक्षा शाखामा ताला लगाउने अमुक दलगत संगठनको दुष्प्रयास यथाशीघ्र ताला फोडेर विफल पारेको बताएका छन्। विद्यालयमा राजनीति गर्ने कुरा महानगरले कल्पनासम्म गर्न नसक्ने उनको भनाइ छ।

“विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ। त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो,” उनले भनेका छन्, “काठमाडौँ  महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले गरेको ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोडेर विफल पारेको हो।”

महानगरले सामुदायिक विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसमेत तयारी गरेको छ।