हत्या अभियोगमा फरार कोइरी उद्योग समितिमा सिफारिस, यी हुन् अन्य समितिमा सिफारिस सांसद

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोगमा सांसद कोइरी फरार छन्।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेले हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरीलाई प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा श्रम समितिमा सिफारिस गरेको छ। संसद् सचिवालयमा बुझाएको प्रतिनिधिसभाको १० वटा विषयगत समितिमा प्रतिनिधित्व गर्ने सांसदको सूचीमा कोइरीलाई उद्योग तथा श्रम समितिमा राखिएको छ। 

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोगमा कोइरी फरार छन्। उनलाई उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ परेका छैनन्। उनी मंसिरमा भएको निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भए। तर, संसद् बैठकमा अनुपस्थित रहँदै आएका छन्। 

सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे बर्खास्त हुने संवैधानिक व्यवस्था भए पनि उनीमाथीको कारबाही अघि बढाइएको छैन। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन बसेको बैठकमा उनी उपस्थित भए। त्यसयता भने अनुपस्थित छन्।

संसद् सचिवालयले उनलाई बैठकमा अनुपस्थित रहेका विषयमा दुई पटक पत्र काटिसकेको छ। त्यसको जवाफमा कोइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको र ठिक भएपछि उपस्थित हुने जवाफ दिँदै आएका छन्।

कोइरीमात्र होइन एमालेले सेक्युरिटी प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको भन्दै विवादमा तानिएका सांसद गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिमा सिफारिस गरेको छ। १० वटा विषयगत समितिका प्रतिनिधित्व गर्ने सांसदमा एमालेले अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरलाई सिफारिस गरेको छ। 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरीको नाम बुझाइएको छ। 

कानुन, न्याय तथा मानव अधिकार समितिमा सुवास नेम्वाङ, महेश बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार शाह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानविर राई र सूर्यकुमारी श्रेष्ठको नाम छ।

महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरी बहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी, राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल सिफारिसमा परेका छन्। 

पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेबे र कालुराम राई तथा सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बाँस्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मिणी राना बराइलीको नाम सिफारिस गरेको छ।