युक्रेनका विभिन्न शहरमा रुसको क्षेप्यास्त्र आक्रमण, ९ जनाको मृत्यु

युक्रेनको हवाई रक्षा प्रणालीले २३ मध्ये २१ वटा क्षेप्यास्त्र र दुई वटा ड्रोनलाई  हानेर खसालिदिएको अधिकारीहरूले जनाएका छन्।

रुसले युक्रेनको राजधानी किभसहित विभिन्न शहरमा क्षेप्यास्त्र आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ। उमान शहरस्थित नौ तले आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ। घाइते नौ जनालाई अस्पताल लगिएको छ। यस्तै, डिनिप्रो शहरमा एक महिला र उनकी तीन वर्षीय छोरीको मृत्यु भएको छ। यस्तै, क्रेमेनचुक र पोल्ताभा शहरमा समेत विस्फोट भइरहेको इन्टरफ्याक्स न्युज एजेन्सीले जनाएको छ।

युक्रेनको हवाई रक्षा प्रणालीले आक्रमण भएका २३ मध्ये २१ वटा क्षेप्यास्त्र र दुई वटा ड्रोनलाई  हानेर खसालिदिएको अधिकारीहरूले जनाएका छन्।

रुसले युक्रेनमा ५१ दिनपछि पहिलो पटक क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ। यद्यपि किभमा मानवीय क्षतिको खबर नआएको किभका सैन्य प्रमुखलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

रुसी आक्रमणको सामना गर्न युक्रेनले पश्चिमा मित्रराष्ट्रसँग लिएका नयाँ उपकरण, ट्यांक र विभिन्न सैन्य सामग्रीले तयारी गरिरहेका बेला रुसले आक्रमण गरेको हो।