पार्टीको पुनर्संरचनाका लागि एउटा सशक्त राजनीतिक आन्दोलन चाहिन्छ-चाहे त्यो सडकमा होस् वा पार्टीभित्र।
लामो समयदेखि बहसमा आएको विषय हो पार्टीको सुधार र पुनर्संरचना। तर, के यो भनेजस्तै सजिलो छ वा के त्यस्तो सम्भव छ?
'हामी अब सुध्रिन्छौँ, पार्टीलाई पहिलेको जस्तो हुन दिन्नौँ' भन्ने केही राजनीतिकर्मीको मुखबाट सुन्दा राम्रो लागे पनि यो सजिलो काम होइन। पार्टी संरचना, विधि विधान र आर्थिक गतिविधिलाई समेट्दै समग्र रूपमा पुनर्संरचना नगरी पार्टीका सतहमा देखिएका कमीकमजोरीमा सुधार सम्भव छैन। यस्तो पुनर्संरचना केही व्यक्तिले चाहेर वा अरूले कामना गरेर मात्र पनि सम्भव छैन।
राजनीतिक पार्टीमा सुधार गर्ने कुरा चल्दा तिनमा भएका मूल समस्या के हुन् भनेर बुझ्न पनि आवश्यक छ। राजनीतिक पार्टीप्रतिको आम असन्तुष्टिको कारण तिनीहरूका अकर्मण्यता, एक दुई गलत काम वा उच्च नेतृत्वमा निश्चित मानिसको हालीमुहाली मात्र होइन। नेपालका राजनीतिक पार्टी स्थानीय तहदेखि केन्द्रसम्म सार्वजनिक सम्पत्तिको लुट र गैरकानुनी गतिविधिको संरक्षणमा लिप्त भएका छन्। आर्थिक र सामाजिक अपराधमा राजनीतिक पार्टीको भूमिका सोचेभन्दा भयावह छ। त्यसैले, पार्टी र तिनका नेता-कार्यकर्ताको मानसिकता परिवर्तन गरेर एकाएक असल, साधु बनाउने काम त्यति सजिलै सम्भव छैन।
राजनीतिक पार्टीको संरचना बृहत् समाजको अवस्थितिसँग जोडिएको हुन्छ। समाजको आर्थिक, सांस्कृतिक वा शक्ति वितरणको तौरतरिकाले राजनीतिक पार्टी कसरी चल्छन् भनेर निर्धारण गर्ने हो। सामाजिक मूल्यमान्यतामा पारदर्शिता, जबाफदेहिता, समावेशिता छैन भने राजनीतिक पार्टीमा पनि यी विशेषता स्वतः हाबी हुन्छन्। राजनीतिक पार्टीमा गरिने सुधार समग्र समाजको रूपान्तरणसँग जोडिएको हुन्छ र हुनुपर्छ। सामाजिक संरचनामा रहेका जटिलतालाई सम्बोधन गर्दै पार्टीको संरचना र प्रणाली चुस्त, दुरुस्त बनाउन निकै ठूलो र दीर्घकालीन पहल चाहिन्छ।
अब यो विषयलाई अर्थराजनीतिको कोणबाट हेरौँ।
समाज (वा राज्य) हरेक पक्षले देखेको स्वार्थ वा सुरक्षाबाट गतिशील भएको हुन्छ। नेपाली भाषाको शब्द स्वार्थलाई यस सन्दर्भमा अङ्ग्रेजीको शब्द 'इन्सेन्टिभ' भनौँ। समाज वा राज्यको कुनै अवस्थामा रूपान्तरणको विषय उठ्दा हामीले त्यसका लागि संलग्न विभिन्न पक्षहरूको इन्सेन्टिभ के छ भनेर केलाउनुपर्ने हुन्छ। यसका लागि एउटा प्रश्नले थप सजिलो बनाइदिन सक्छ-राजनीतिक पार्टीमा आवश्यक सुधार ल्याउने चासो र चिन्ता कसमा छ?
पार्टीलाई सुधार गर्दा आफूलाई फाइदा होला भनेर सोच्ने मानिस राजनीतिक पार्टीमा कति छन्?
अहिले नेपालका प्रमुख राजनीतिक पार्टीहरूमा आजीवन राजनीतिबाट लाभ उठाउने र राजनीति छोड्नासाथ असान्दर्भिक हुने सीमित मानिसको हालीमुहाली छ। राजनीतिक पार्टीमा सुधार गर्नु भनेको उनीहरूको वर्चस्वको अन्त हो। शेरबहादुर, केपी ओली वा प्रचण्ड र तिनका वरिपरि घुमिरहने स्वार्थ समूहले आफ्नै अहित हुने गरी पार्टीलाई पुनर्संरचना वा सुधार गर्ने मुद्दामा रुचि राख्लान् भन्ने अपेक्षा गर्न नसकिएला।
राजनीतिक पार्टीको पुनर्संरचना गर्न अनिच्छुक हुने उच्च तहका नेता मात्र होइन। केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको जस्तो साङ्गठनिक संरचना छ, त्यसमा पुनर्संरचना र सुधारको मुद्दा सान्दर्भिक छैन। जसले विभिन्न तहमा पार्टी सङ्गठन चलाइरहेका छन् उनीहरूलाई किन चाहियो सुधार ?!
राजनीतिक पार्टीलाई सुधार गर्ने कुरा किन र कसरी चलिरहन्छ त ?
मलाई लाग्छ यो मूलतः नागरिकको तहमा भएको अपेक्षाको अभिव्यक्ति हो। समाजको बुद्धिजीवी वा चेतनशील भनिएको वर्ग चाहन्छ पार्टीहरू सुध्रिउन् र विगतका गल्ती-कमजोरी नदोहोर्याउन्। सुधारको कुरा गर्ने दोस्रो पक्ष ती राजनीतिकर्मी हुन् जो विद्यमान संरचना र प्रणालीबाट सन्तुष्ट छैनन्। तर, बुझ्नुपर्ने कुरा के छ भने पार्टीमा पुनर्संरचना गर्नका लागि उनीहरूको अहिलेको भूमिका पर्याप्त छैन।
पार्टीको पुनर्संरचनाका लागि एउटा सशक्त राजनीतिक आन्दोलन चाहिन्छ-चाहे त्यो सडकमा होस् वा पार्टीभित्र। यस्तो आन्दोलनका लागि विभिन्न राजनीतिक पार्टीमा रहेका सुधारको कुरा गर्ने राजनीतिकर्मीहरू तयार छन् त? मेरो विचारमा उनीहरू अझ पनि यो चुनौतीका लागि अझ तयार छैनन्। तयार भए पनि उनीहरूसँग संरचना र सुधारका लागि पार्टीमा सशक्त विद्रोह गर्ने सामर्थ्य छैन।
म गलत पनि हुन सक्छु, भविष्यले देखाउला।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
