फरार सांसद कोइरीको विषयमा विवाद, संसद् बैठक आधा घण्टा स्थगित

फरार रहेका एमालेका सांसद कोइरीका विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

काठमाडौँ– हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिरामी भएर संसद्मा उपस्थित हुन नसकेको विषयलाई लिएर सत्ता पक्षका सांसदले प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। 

निरन्तर अनुपस्थित रहेका कोइरीले स्वास्थ्योपचारमा रहको भनी संसद् सचिवालयलाई जानकारी गराएका थिए। सोबारे सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फरार अभियुक्तलाई बिरामी छन् भनेर प्रतिनिधिसभाका सदस्यहरू घर जान नसक्ने बताए। 

उनले भने, “प्रतिनिधिसभामा देशका सार्वभौम जनताका प्रतिनिधिहरू बसेर एक जना फरार अभियुक्तलाई बिरामी छ भनेर निर्णय गरेर घर गयो भने के भन्छन्? सभामुख महोदय। यसमा गम्भीर प्रश्न छ। यसमा सरकार पक्ष, प्रतिपक्ष कुनै पक्षका रूपमा होइन। अरू जे–जे मन लाग्छ गर्दा भयो। तर उहाँ बिरामी हुनहुन्छ भन्ने वाक्यांश रिकर्डबाट हटाइयोस्।”

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले सांसद कोइरी फरार अभियुक्त रहेको टिप्पणी गरे। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए। विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै उनले भने "उहाँ बिरामी परेको होइन। फरार अभियुक्त हुन्।"

लगातार २१ वटा बैठकमा अनुपस्थित रहेका सांसद कोइरीका विषयमा विवाद देखिएपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।