अभाव बढ्दै गएपछि परिवारले उनीहरूलाई छुट्टै राखे। श्रीमानको कमाइले पालिनै हम्मे भयो। अनि खालिदा घरबाहिर निस्किइन्। समाजको लान्छाना खेपेर सिलाइको तालिम लिइन्। अहिले एक्स्पोमा भाग लिन विदेशसम्म पुग्छिन्।
काठमाडौँ– “आफू त बिग्री–बिग्री हाम्रा छोरीबुहारीसमेत बिगार्ने भई।”
कलिलो उमेर। घरमा स–साना बालबच्चा। कमाइ भने श्रीमान् एक्लैको। उनी घर बनाउने मिस्त्री थिए र ज्याला न्यून थियो। घरमा आवश्यकताका चाङ थुप्रिदै गयो।
श्रीमानको कमाइले नपुग्ने भएपछि बाध्य भएर खालिदा बिबी सिलाइबुनाइको तालिम लिन घरबाहिर निस्किइन्। उनी २५ वर्षअघि आफन्त र छिमेकीले लगाएको कटुवचन अझै सम्झन्छिन्।
गाउँलेको कुरा सुनेर घरभित्रै बसेको भए उनको काठमाडौँ यात्रा सम्भव हुने थिएन। पाकिस्तानको उही गाउँको घरभित्र सीमित हुन्थिन्। तर, उनले ती कटुवचन सुनेको नसुनै गरिन्। सिलाइ र बुनाइ गरेर कमाइ गर्न थालिन्। परिवारका आवश्यकता पूरा हुन थाले। आज उनको नाम पाकिस्तानको गाउँबाट निस्किएर विदेशसम्म पुगेको छ।
उनी जिस्ती इम्ब्रोइडरीको विज्ञ हुन्। जिस्ती इम्ब्रोइडरीलाई पाकिस्तानको पहिचान बनाउन प्रचारका लागि विदेशसम्म पुग्छिन्। त्यही सिलसिलामा उनी दोस्रोपटक गत हप्ता नेपाल आएकी थिइन्।
दोस्रो होमनेट इन्टरनेशनल सम्मेलनमा सहभागी हुन नेपाल आउँदा आफूले इम्ब्रोइडरी गरेका कुर्ताहरू पनि ल्याएकी थिइन्। त्यहाँ उनको छुट्टै स्टल थियो, जहाँ जिस्ती इम्ब्रोइडरीबारे जानकारी दिन्थिन्।
उकालोसँग कुराकानीका क्रममा आफू संघर्ष गरेर यहाँसम्म आइपुगेको उनले पटकपटक दोहोर्याइन्। “बाहिर काम गर्न निस्कँदा मानिसहरू मलाई नराम्रो सोच्थे,” उनी भन्छिन्, “मान्छेको कुरा सुनेर घरमै बसेको भए यहाँ कसरी पुग्थेँ र?”
असहज परिस्थितिले निकाल्यो घरबाहिर
पाकिस्तानको खैबर पाख्तुन्वा प्रदेशको हरिपुर जिल्लामा छ खालिदाको गाउँ। निम्नवर्गीय परिवारमा जन्मिएकी थिइन् उनी। परिवारले १५ वर्षको कलिलो उमेरमै विवाह गरिदिए।
खालिदालाई पढ्न मन थियो, तर घरधन्दा सम्हाल्नुपर्ने अवस्थामा पुगिन्। त्यतिबेला पाकिस्तानी गाउँका महिला घरबाहिर निस्कँदासमेत परिवारको अनुमति चाहिन्थ्यो। बुर्काले अनुहार ढाक्नु पर्थ्यो। शिरदेखि पैतालासम्म ढाकिने कपडा लगाउनु पर्थ्यो। महिलाले स्वेच्छाले सीप सिक्न बाहिर निस्कनु र व्यापार थाल्नु ठूलो चुनौती थियो।
उनको श्रीमान्को परिवार संयुक्त भएकाले ठूलो थियो। खाने मुख धेरै र कमाइ गर्ने मानिस थोरै थिए। विवाह गरेको वर्ष दिनपछि नै खालिदाले पहिलो सन्तानलाई जन्म दिइन्। सुत्केरी अवस्थामा भरपुर पोषणयुक्त खाना त के पाउनु, अभावले न्यूनतम आवश्यकता बल्लतल्ल पूरा हुन्थ्यो।
त्यही बेला परिवारले उनीहरूलाई भिन्दै राखिदियो। श्रीमानको कमाइले घरको सबै गर्जाे टार्नुपर्ने अवस्था भयो।
“परिवारमा दैनिक छाक टार्न बहुत मुस्किल हुन थाल्यो। जब घरमा आफ्ना आवश्यकताहरू पूरा हुँदैनन्, तब समस्या झनै बढ्दै गयो,” ती दिन सम्झिँदा खालिदा भावुक हुन्छिन्।
पहिलो सन्तान जन्मिएको दुई वर्षपछि दोस्रो सन्तानलाई जन्म दिइन्। घरको अभाव उस्तै थियो। बच्चाको पालनपोषणमा झनै समस्या आउन थाल्यो। घरखर्च धान्न उनी कमभन्दा कम सामग्री किन्थिन्, जसले आवश्यकता टर्छ।
यही समयमा उनको गाउँमा महिलाहरूलाई आत्मनिर्भर बनाउने भन्दै ‘सबा पाकिस्तान’ नामक एक संस्था आइपुग्यो। उक्त संस्थाले सिलाइसम्बन्धी तालिम दिन महिलाहरूको खोजी गर्दै थियो। तालिम लिएपछि काम गरेर पैसा कमाउन सकिने प्रचार गरिएको थियो।

अभाव झेलिरहेकी खालिदाले जसरी पनि सीप सिक्ने अठोट गरिन्। शुरूमा श्रीमानले जान दिँदैनन् कि भन्ने थियो। डराइडराइ श्रीमान्सँग अनुमति मागिन्। श्रीमान्को प्रतिक्रिया सोचेभन्दा फरक भयो। उनलाई सहर्ष तालिममा जान अनुमति दिए।
उनले तालिमका लागि खर्च गर्नु परेन। कपडा सिलाउने मेसिन, धागो र कपडा त्यही संस्थाले उपलब्ध गरायो। तालिममा उनले महिलाका पहिरन सिउन सिकेकी थिइन्।
सीप सिकेपछि उनले बिस्तारै ग्राहकका लागिसमेत कपडा सिउन थालिन्। त्यति बेला उनले एकजोर कुर्तासुरुवाल सिलाएबापत ३० पाकिस्तानी रुपी (त्यहाँको मुद्रा) पाउँथिन्। श्रीमानसँगै खालिदा पनि कमाउने भइन्। परिवारको आवश्यकताहरू पूरा गर्न सहज बन्दै गयो।
“सिलाइ गर्न थालेपछि घरमा खुशियाली आयो, आवश्यकताहरू पूरा हँुदै गए,” खालिदा भन्छिन्, “दिनमा तीन जोरसम्म कुर्तासुरुवाल सिउँथे। महिनाको १ हजार रुपी कमाइ हुन्थ्यो। त्यो पनि त्यतिबेला धेरै थियो।”
लाञ्छना बेवास्ताले खुले सम्भावनाका ढोका
खालिदाले काम गर्न थालेपछि त्यसका लागि घरबाहिर जानुपर्ने भयो। तब छरछिमेकले कुरा काट्न थाले, अनेक लाञ्छना लगाउन थाले। आफ्ना छोरीबुहारी पनि ‘बिगार्न लागेको’सम्मका आरोप लगाए।
उनले यी सबै कुरालाई बेवास्ता गरिन्। श्रीमानको साथ पाएका कारण काममा बाधा उत्पन्न भएन।
समय बित्दै गयो। १३ वर्षमा उनी ६ सन्तानकी आमा भइन्। उनी आफू पनि कमाइ गर्ने भएकाले लालनपालनमा समस्या भएन। बरू उनलाई समय व्यवस्थापन गर्न सकस हुन्थ्यो।
सिलाइमा पोख्त भएपछि सम्भावनाका अन्य ढोकाहरू खुल्दै गए। जिस्ती इम्ब्रोइडरी सिकेपछि त उनको कमाइ पनि बढ्यो।
“सिलाइबुनाइमा एक जोर कुर्तासुरुवाल सिलाएको ३० रुपी पाउँथे, उता इम्ब्रोइडरीमा एउटै कुर्ता भरेको ५ हजार पाएँँ,” उनी भन्छिन्, “त्यो मेरो जीवनकै सबैभन्दा खुशीको दिन थियो। मैले पहिला दुई वटा कुर्ता भरेँ, त्यसबापत १० हजार रुपी पाएँ।”
इम्ब्रोइडरी गर्न थालेपछि उनको कामको क्षेत्र पनि फराकिलो बन्दै गयो। पुरानो घरको केही कोठामा चलिरहेको उनीहरूको जिन्दगी अब नयाँ ठाउँमा सरेको थियो। उनीहरूले जग्गा किने। घर बनाए। तबसम्म छोराछोरी हुर्किसकेका थिए, उनीहरूको बिहे पनि गरिदिए।
यसबीचमा खालिदाको कमाइ बढ्दै गयो। उनी अहिले मासिक एक लाख रुपीभन्दा बढी कमाइ गर्छिन्।
बदलिएकी खालिदाले बदलेको गाउँ
व्यक्तिगत र व्यावसायिक जीवनमा सफलता मिल्दै गएपछि पहिले कटाक्ष गर्ने छिमेकी बिस्तारै नजिकिन थाले। खालिदाले आफ्नो सीपलाई आफूमा मात्रै सीमित गराइनन्, गाउँकै अन्य महिलालाई पनि तालिम दिन थालिन्। रोजगारीसमेत दिइन्।
केही परिवारले आफ्ना छोरीबुहारीलाई सिलाइको तालिम लिन पठाउन चाहेनन्। पुरानो सोच बोकेका उनीहरूलाई सम्झाउन गाह्रो थियो। तर, खालिदा उनीहरूलाई तालिममा ल्याउन हरसम्भव कोशिश गर्थिन्। उनी सोच्थिन्– यी महिलाहरूको हातमा सीप नभएसम्म समाजअगाडि बढ्न सक्दैन।

छोरीबुहारीलाई तालिममा नपठाउने परिवारमा खालिदा आफैँ पुग्थिन्। आफ्ना संघर्षका कथा सुनाउँथिन्। महिलाहरूले कमाउँदा परिवार पनि सम्पन्न हुने भन्दै प्रेरणा दिन्थिन्। एक्लै गएकी उनी फर्किँदा ती घरका छोरीबुहारीसमेत लिएर आउँथिन्। तालिममा सहभागी गराउँथिन्।
खालिदाले आफूसँगै गाउँका महिलाहरूलाई सक्षम बनाउँदै लगिन्। “सीपले गर्दा अरू महिलाको पनि चुल्हो बल्न थाल्यो, आवश्यकता पूरा गर्न थालेपछि उनीहरूको घरमा समेत खुशी भित्रियो,” उनले भनिन्, “यो देखेर मलाई पनि खुशी लाग्थ्यो।”
उनको सफलतामा उनको जति मेहनत छ, श्रीमानको साथ पनि उत्तिकै महत्त्वपूर्ण छ। “मियाँ (श्रमान्)ले साथ नदिएको भए, यहाँसम्म कसरी पुग्न सक्थेँ र?” कुराकानीका क्रममा उनले यो वाक्य पटकपटक दोहोर्याइन्।
उनको गाउँमा महिलालाई घरबाट बाहिर निस्कनसमेत नदिइने त्यो समयमा श्रीमानले दिएको साथ नै उनको प्रगतिको पहिलो खुड्किलो थियो। “म बजार जान नभ्याउँदा मियाँले नै धागो, कपडाहरू किनेर ल्याइदिनुहुन्थ्यो,” उनी भन्छिन्, “मेरोजस्तो साथ दिने श्रीमान् सबैको भयो भने महिलाहरूलाई सुख हुन्छ।”
खालिदा आजभोलि गाउँमा हुने सामाजिक काममा पनि सक्रिय हुन्छिन्। गाउँघरतिर कसैको घरमा झगडा परे, विवाद सुल्झाउन उनैलाई नै बोलाउँछन्।
अहिले खालिदाले ‘उम्मिद कौशन तकिया’ कारखाना सञ्चालनमा ल्याएकी छन्। त्यसमा उनका गाउँका ६० महिला सिलाइबुनाइको काम गर्छन्। यही टोलीले गरेको कामलाई लिएर उनी देशदेखि विदेशसम्म पुग्ने गरेकी छन्।
खालिदा भारतका विभिन्न शहरमा आयोजित मेलामा आफ्ना उत्पादन लिएर सातपटक सहभागी भइसकेकी छन्। नेपालसहित बंगलादेश र दुबई पनि पुगिसकेकी छन्। उनले बनाएको मोबाइल राख्ने थैली र राहदानी राख्ने खोल गरी दुई उत्पादनहरूलाई ‘दुबई एक्स्पो २०२०’का लागि छनौट गरिएको थियो।
१० महिनाअघि नेपाल आएकी उनी फेरि दोस्रो होमनेट इन्टरनेशनल सम्मेलनमा सहभागी हुन आइपुगेकी हुन्।
“हम ने कभी नही साेंचा था, यहाँ (नेपाल) तक का सफर होगा। नेपाल और यहाँ के लोगों से मिलुंगी,” उनले भनिन्, “माशाअल्लाह, नेपाल बहुत अच्छा लगा। और नेपाल के लोग भी मिलनसार, अच्छे लगे। बहुत अच्छा लग रहा है।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
