राजु स्याङतानको कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक

कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ। कविता संग्रहमा ६ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।

काठमाडौँ– कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ।

शनिबार पब्लिकेशन नेपालयको आर शालामा सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले पुस्तक सार्वजनिक गरेका थिए। द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन्।

विमोचन कार्यक्रममा उपस्थित वक्ताहरूले कुनै समय हतियार बोकेर समाज रूपान्तरणमा लागेका राजुले पछिल्लो समय बोकेको कलमको हतियार अत्यधिक धारिलो भएको टिप्पणी गरे।

"एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कँदा हुर्कँदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ," उनका कविताबारे टिप्पणी गर्दै समीक्षक हरि शर्माले भने, "परिणाममा बजार, समाज र पुँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिबिम्वित भएको छ।"

कार्यक्रममा नयाँ पुस्ताका कवि राजुका बारेमा चिनारी प्रस्तुत गरेका अघिल्ला पुस्ताका कवि श्रवण मुकारुङले भने, "राजु उनको परिवेशलाई आमपाठकको मर्ममा छोएर प्रस्तुत गर्न प्रखर देखिएका छन्।" त्यस अवसरमा राजुले पुस्तकमा अटाएका दुइवटा कविता वाचन गरेर सुनाएका थिए।

शनिबारकै समारोहमा कविताको ‘इबुक’ र ‘अडियो बुक’ पनि सार्वजनिक भएको घोषणा गरिएको थियो। कविता संग्रहमा ६ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्। १५१ पृष्ठको यो कविता संग्रह शनिबारबाटै सबैजसो प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने नेपालयले जनाएको छ।