अयोग्य लडाकुलाई २ लाख दिन ल्याइएको कार्यविधि खारेजीको माग गर्दै प्रधानमन्त्रीको पुतला दहन

राष्ट्रिय युवासंघ नेपालले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिएको छ।

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल एमालेमा आबद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुतला दहन गरेको छ।

शनिबार अपराह्न काठमाडौँको नयाँ बानेश्वरमा सरकारविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका युवा संघ, नेपालका नेता–कार्यकर्ताहरूले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री दाहालको पुतला दहन गरेको हो। 

त्यसक्रममा उनीहरूले लडाकुको नाममा अर्बौँ घोटाला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए।

अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधीबेहरी सृजना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए। 

"यदि यो कुचेष्टा अगाडि बढाउन खोज्यो भने देशभर आन्दोलनको आँधीबेहरी ल्याएर यो सरकारलाई घुँडा टेकाउन राष्ट्रिय युवा संघ नेपाल जान्दछ," उनले भने।

राष्ट्रिय युवा संघ नेपालले शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरूप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो।