'ए' डिभिजन लिग : वर्षाका कारण शनिबारका खेल स्थगित

काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण शनिबारलाई तय भएका शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गतका खेल प्रभावित भएका छन्।

काठमाडौँ– काठमाडौँ उपत्यकामा भारी वर्षा भएसँगै शनिबारलाई तय भएका शहीद स्मारक 'ए' डिभिजन लिगका खेल प्रभावित भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेटपछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो। 

आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक/एक गोल गरेका थिए। खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ५५औँ मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत  गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। 

७२ औँ मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ। अब दुई टोलीबीच भिडन्त आइतबार हुनेछ। आइतबार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउँसो ४ः३० बजेबाट सुचारु हुनेछ।

लिगअन्तर्गत शनिबारकै अर्को खेल संकटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ। पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो। ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आइतबार दिउसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ। 

यस्तै, दशरथ रंगशालामा अवेरलाई तय भएको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बीचको खेल पनि स्थगित भयो। खेल आइतबार नै एन्फा कम्प्लेक्समा ३ः३० बजेबाट शुरू हुनेछ।