रविलाई संसदीय दलको नेता बनाउन डोलप्रसाद अर्यालले दिए पदबाट राजीनामा

पार्टी सभापति लामिछाने नै रास्वपा संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका आधारमा आफूले पदबाट राजीनामा दिएको अर्यालले बताएका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्। अर्यालले शनिबारबाटै लागू हुने गरी रास्वपाको संसदीय दलको नेताको पदबाट राजीनामा दिएका हुन्।

रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रास्वपा सभापति र सांसद पदसमेत खारेज गरिदिएपछि अर्याल कार्यवाहक सभापति चुनिएका थिए। माघ १३ गतेको पार्टी संसदीय दलको बैठकले उनलाई नेता चयन गरेको थियो।

उनले पार्टी सभापति लामिछाने उपनिर्वाचनबाट निर्वाचित भएर आएको र उनी नै संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका आधारमा पदबाट राजीनामा दिएको रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठसमक्ष पेस गरिएको राजीनामा पत्रमा उल्लेख छ।

"हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मितिदेखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु," राजीनामा पत्रमा भनिएको छ।

लामिछानेको नागरिकता विवादमा गत माघमा आएको सर्वोच्चको फैसलापछि उनको सांसदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री, पार्टी सभापति र रास्वपा संसदीय दलको नेताको पद गुमेको थियो। तर, गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी चितवन–२ बाट भारी मतान्तरसहित निर्वाचित भएर पुनः संसद् प्रवेश गरेका छन्।