बालुवाटारमा प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता

भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतसहित विजयी भएकामा बधाई दिएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतसहित विजयी भएकामा बधाई दिएका छन्। यसका साथै प्रधानमन्त्रीले रास्वपालाई पुनः सरकारमा सहभागी हुन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

सरकारलाई समर्थन गरेको दलको सभापतिले प्रधानमन्त्रीलाई भेट्नु सामान्य प्रक्रिया भएको रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए। रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्दै छ।

“सरकारमा जाने नजाने विषयमा हामीले छलफल गरेका छैनौँ,” उनले भने, “केन्द्रीय समिति बैठकमा संसदीय दलको नेताको नाम अनुमोदन हुन्छ। अन्य राजनीतिक विषयमा पनि छलफल गर्छौँ।” शनिबार डीपी अर्यालले दलको नेताबाट राजीनामा दिएका थिए।