एसीसी प्रिमियर कप: नेपाल टस जितेर फिल्डिङमा, दीपेन्द्रको स्थानमा गुलशन खेल्दै

मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको खेलमा एक परिवर्तन गरेका छन्। उनले दीपेन्द्रसिंह ऐरीको स्थानमा तीव्र गतिका बलर तथा अलराउन्डर गुलशन झालाई मौका दिएका छन्।

काठमाडौँ- नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका हुन्।

आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले एक परिवर्तन गरेका छन्। उनले दीपेन्द्रसिंह ऐरीको स्थानमा तीव्र गतिका बलर तथा अलराउन्डर गुलशन झालाई मौका दिएका छन्। अन्य खेलाडी भने यथावत् छन्। 

जल तथा मौसम विज्ञान विभागले आज वर्षा हुने जनाएको छ। विभागका अनुसार दिउँसोदेखि वर्षाको सम्भावना छ। यदि, वर्षाका कारण खेल रोकिए मंगलबार पुन: खेलाइने कार्यतालिका छ।

यसअघि, यूएईले सेमिफाइलनमा ओमानलाई डकवर्थ लेविस मेथडमा दुई रनले पराजित गर्दै फाइनलमा पुगेको थियो। यता, नेपाल र कुवेतबीचको सेमिफाइनल खेल भने वर्षाका कारण नतिजाविहीन भएको थियो। प्रिमियर कपको उपाधि विजेता टोलीले भारत, पाकिस्तानलगायत एशियाका टेस्ट खेल्ने पाँच राष्ट्रसमेत सहभागी हुने एशिया कपमा स्थान बनाउने छ।

यद्यपि, नेपाल र यूएईसँगै ओमान इमर्जिङ टिम्स एशिया कपमा छनोट भइसकेका छन्। प्रिमियर कपअन्तर्गत आइतबार तेस्रो स्थानको लागि भएको प्लेअफ खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल र यूएईसँगै ओमानले पनि इमर्जिङ कपमा स्थानमा बनाएको थियो।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एसोसिएट टोलीलाई एक्सपोजर दिन इमर्जिङ कप आयोजना गर्दै आएको छ। 

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, आरिफ शेख, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी