सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै, साइबर अपराध नियन्त्रणमा जोड

दिवसको नारा ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ तय गरिएको छ।

काठमाडौँ– सरकारले मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ मनाउँदै छ। ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा आइतबार र सोमबार विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सूचना प्रविधिको क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्ने तयारी छ।

“सूचना प्रविधिको प्रयोग गरेर देश विकासमा योगदान पुर्‍याउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो,” उनले भने, “साथै, सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर अध्ययन गर्ने गरिन्छ।”

सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यो दिवसको नारा तय गरिएको सुवेदीको भनाइ छ। दूरसञ्चार सेवा प्रदायकमार्फत रिङ ब्याक टोन र मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत ‘सूचना तथा सञ्चार प्रविधि दिवस भव्य रूपमा मनाऔँ’ भन्ने सन्देश पठाइएको प्रचार उपसमितिले जनाएको छ।

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो। कम्प्युटर एसोसिएसन नेपाल (क्यान)को सन् १९९२ मा स्थापना भयो। त्यही दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउने गरिन्छ।