भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपतिको चाहना

सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैँले गर्न चाहेको स्वकीय सचिवालयमार्फत जनाएका हुन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचारको खर्च आफैँले बेहोर्न चाहेको उनको स्वकीय सचिवालयले जनाएको छ।

प्रेस संयोजक खिला कार्कीले जारी गरेको नोटमा राष्ट्रपतिले आफ्नो उपचारमा भएको खर्च आफैँले बेहोर्न चाहेको उल्लेख गरिएको छ। पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेलले नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा दुई साता उपचार गराएर फर्किएका थिए।

नेपालमा नै उपचार हुने रोगकोसमेत विदेशमा गएर उपचार गराएको भन्दै राष्ट्रपति पौडेलको आलोचना भएको थियो। त्रिवि शिक्षण अस्पतालमा सामान्य उपचार गराएका राष्ट्रपति पौडेललाई वैशाख ६ मा थप उपचारका लागि भारत लगिएको थियो।

उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका छन्।