ओलीको दाबी : वर्तमान सरकार कायमै रहे देश टाट पल्टिन्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले ओरालो लागेको अर्थतन्त्रलाई डेढ वर्षभित्र रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी गरेका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा अर्थतन्त्रमा देखिएको गिरावटलाई रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा औँल्याए। 

मंगलबार नेकपा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “पूर्ण रूपमा अर्थतन्त्र ओरालो लाग्यो। असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन्। अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ।” 

उनले पछिल्लो समय देशमा निर्यात र आयातमा कमी देखिए तापनि भन्सार छलेर सामान मुलुकमा भित्रिइरहेको, जसका कारण भन्सार, कर, राजस्व वृद्धिमा कमी आइरहेको बताए। उनले तीव्र गतिमा अर्थतन्त्र 'माइनस'मा गई देश संकटतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै यस्तै अवस्था रहे देश टाट पल्टिने दाबी गरे।

“देश संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ,” उनले भने, “देश टाट पल्टिँदै छ। तर एउटा उद्योगपति, जो सत्ता पक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा। एउटा व्यक्तिले सम्पत्ति बढायो चालिस अर्ब।”

ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि बताए।