विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकार सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३ देखि यो दिवस मनाउन थलिएको हो।

काठमाडौँ– नेपालसहित विश्वभर बुधबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो।

त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो। उक्त दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्त्वपूर्ण दिनका रूपमा लिन्छन्। आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ। नेपालमा नेपाल पत्रकार महासंघलगायत संघसस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो। स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रस्ट रूपमा उभ्याएको थियो।

युनेस्कोले यो वर्षको नारा ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता' तय गरेको छ। नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्छ भन्ने भावका साथ नारा तय गरिएको छ।

अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्न सक्छ। त्यसकारण अधिकार प्रयोगको दिशामा सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको नाराले अपिल गरेको छ।